ज्वरो र रूघाखोकी लागेकाको पिसिआर अनिवार्य

काठमाडौँ । सरकारले कोभिड-१९ को दोस्रो महामारी रोक्न संघीय राजधानी उपत्यका आउने नागरिकमाथि कडाइ गर्न थालेको छ । कोभिड-१९ को दोस्रो लहर आउने जोखिम बढेपछि सरकारले उपत्यका छिर्ने नाकामा फेरि निगरानी बढाउन लागेको हो ।

नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको बताउँदै काठमाडौं छिर्ने नाकामा एन्टिजेन परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौं प्रवेश गर्ने सबै नाकामा एन्टिजेन परीक्षण गरिने उनको भनाई छ ।

नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालिएको छ । ‘कोभिड १९ को दोस्रो लहरको जोखिम उच्च भएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘केही दिनयता रुघाखोकी र ज्वरो आएकाहरुलाई उपत्यका छिरेपछि पिसिआर परीक्षण गर्न पठाइरहेका छौँ ।’

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने
चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

प्रवक्ता गौतमले इन्सिडेन्ट कमान्ड सिस्टमको आज बसेको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिए । उनले पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताए ।

यसअघि, सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको छ । उक्त भेरोसेल खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो । नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा भेरोसेल खोप रहेको छ ।

संघअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतलामा कोभिड-१९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरिएको छ । कोभिड-१९ परीक्षण गर्ने सबै सरकारी र निजी प्रयोगशालामा तयारी अवस्था राख्ने निर्णय मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया