पोल्यान्डविरु इंग्ल्यान्डको जित

काठमाडौं । इंग्ल्यान्डले विश्वकपको युरोपियन छनोट फुटबलमा लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले पोल्यान्डलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी म्यागुइरले गोल गरे । यता, पोल्यान्डका जाकुब मोडेरले एक गोल फर्काए । पहिलो हाफमा एक गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो । खेलको १९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान केनले इंग्ल्यान्डलाई १-० गोलको अग्रता दिलाए ।

खेलको ५८ औं मिनेटमा जाकुबले गोल गरेपछि पोल्यान्डले इंग्ल्यान्डविरुद्ध १-१ गोलको बराबरी बनायो । तर खेलको ८५ औं मिनेटमा भने पोल्यान्ड सम्हालिन नसक्दा गोल खाँदै हार्न पुग्यो । ह्यारी म्यागुइरले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलको जित दिलाए ।

यो इंग्ल्यान्डको लगातार तेस्रो जित हो । यसअघि इंग्ल्यान्डले पहिलो खेलमा सान मारिनोलाई ५-० गोलअन्तरले पराजित गरेको थियो । त्यसपछि दोस्रो खेलमा अल्बानियालाई २-० ले हराएको थियो । यसै समूहमा रहेको हंगेरीले एन्डोरालाई ४-१ गोलअन्तरले पराजित गरेको छ । यता, अल्बानियाले भने सान मारिनोलाई २-० ले हराएको छ ।

जितसँगै इंग्ल्यान्डले तीन खेलबाट ९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको हंगेरीले तीन खेलबाट सात अंक बनाउँदा अल्बानियाले तीन खेलबाट ६ र पोल्यान्डले तीन खेलबाट चार खंक बनाएका छन् । समान तीन खेल खेलेका एन्डोरा र सान मारिनो भने अंक बिहीन छन् ।

प्रतिक्रिया