भरतपुरको सिजी ल्यान्डमार्कमा पनि केएफसी

काठमाडौं । अमेरिकी फास्टफुड चेन केएफसीले चितवनमा पनि आउटलेट सुरु गरेको छ ।

केएफसीले चितवनको भरपुरस्थित अत्यधुनिक व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा नयाँ आउटलेट खोलेको जनाएको हो ।

बुधबार उक्त आउटलेटको उद्घाटन सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्रणी विज्ञापन व्यवसायीसमेत रहेका अर्यालले विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डलाई चितवनका उपभोक्तामाझ पुर्‍याउने सिजी ल्यान्डमार्कको उद्देश्य अनुरुप केएफसीलाई चितवन भित्र्याएको बताए ।

पोल्ट्रीको राजधानी मानिने चितवनमा चिकेन परिकारमा विश्वभर ख्याति कमाएको केएफसीको प्रवेशले यहाँको पोल्ट्री व्यवसाय प्रवर्द्धनमा समेत योगदान गर्ने अर्यालले बताए ।

केएफसीले अन्तर्राष्ट्रिय स्वादका परिकार पस्केर चितवनसँग सुमधुर सम्बन्ध विकास गर्ने समेत उनले बताए ।

सिजी ल्यान्डमार्कका म्यानेजर केसीले मल कल्चरमा आकर्षित चितवनबासीलाई केएफसीले अर्को अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडेको बताए । यसले चितवनको आधुनिक जीवन शैलीमा उचाइ थप्ने उनको भनाइ छ ।

कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको केएफसीले ग्राहकलाई संकक्रमबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरको चार तहको सुरक्षा मापदण्ड अपनाएको छ ।

केएफसीका सम्पूर्ण परिकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार हुने र उच्च गुणस्तरको रहेको केएफसीको भनाइ छ ।

यो रेस्टुँरा १५१५ वर्गफिट क्षेत्रफलमा सञ्चालन भएको साथै यसले एकपटकमा ४० जनालाई सेवा दिन सक्ने केएफसीले जनाएको छ ।

रेस्टुराले सुरुकै दिनबाट ‘टेक अवे’ र ‘मेरो किनमेल’मार्फत् होम डेलिभरी सेवा सुरु गरिसकेको जनाएको छ । यो रेस्टुँरामा १५ जनाले प्रत्यक्ष रोजगारी पाएको केएफसीको भनाइ छ ।

प्रतिक्रिया