प्रवलीकरण गर्न सम्झौता नगर्नेलाई सूचीबाट हटाइयो

काठमाडौं । पर्वतमा तोकिएको समयसीमाभित्र निजी आवास मर्मत गर्न सम्झौता नगर्ने १०५ जनालाई प्रवलीकरणको लाभग्राही सूचीबाट हटाइएको छ ।

तोकिएको समयभित्र निजी आवास ममर्तका लागि सम्झौता गर्न नआउने र पहिलो किस्ता नलैजाने प्रवलीकरणका लाभग्राहीलाई सूचीबाट हटाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार भूकम्पपीडितलाई पछिल्लो पटक २०७७ मङ्सिर मसान्तसम्म सम्झौता गर्न र पुस १५ गतेभित्र पहिलो किस्ता लैजान समयसीमा तोकिएको थियो ।

जिल्लामा प्रवलीकरणका कूल लाभग्राहीको सङ्ख्या ३२५ रहेको छ । तीमध्ये २२० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता ५० हजार रुपैयाँ घर ममर्तका लागि लगेको नायब सुुब्बा बालकृष्ण शर्माले जानकारी दिए ।

प्रवलीकरणको लाभग्राहीको सूचीबाट हटाएकामध्ये सबैभन्दा बढी फलेबास नगरपालिकाका रहेका छन् । फलेबास नगरपालिकाका ६१ लाभग्राही सूचीबाट हटेका छन् ।

त्यस्तै बिहादी गाउँपालिकाका २७, पैयूँ गाउँपालिकाका ७, कुश्मा नगरपालिकाका ५ महाशीला गाउँपालिकाका तीन तथा मोदी र जलजला गाउँपालिकाका एक एक लाभग्राही छन् ।

घर मर्मत सम्पन्न गरी दोस्रो तथा अन्तिम किस्ताको लागि भने अहिलेसम्म कुनै सिफारिस नआएको शर्माले बताए । ‘घर बनाउन आवश्यक नभएको तर लाभग्राही सूचीमा नाम निस्किएकाले सम्झौता नगरेको देखियो,’ उनले भने ।

प्रवलीकरणका लाभग्राहीले दुई किस्तामा ५०/५० हजार गरी एक लाख रुपैयाँ पाउनेछन् । शर्माका अनुसार प्रवलीकरणका लाभग्राहीमध्ये पनि पुनर्निर्माणतर्फ परिवर्तन हुन चाहने लाभग्राहीको संख्या ३४८ रहेको छ ।

प्रतिक्रिया