नगर विकास कोषलाई स्मार्ट सिटीमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह

विराटनगर । प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशको पुर्वाधार तथा विकास निर्माणको काममा नगर विकास कोषको लगानी उल्लेखनीय रहेको बताएका छन् । नगर विकास कोषको आयोजनामा विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगर विकास कोषले योजनाबद्ध विकासका लागि भूमिका खेल्नुपर्ने बताए ।

प्रदेश १ व्यवस्थित सहरीकरणका लागि प्रदेश सरकारले बृहद् विराट क्षेत्रको अवधारणा अघि सारेको बताउँदै यसलाई व्यवस्थित सहरको रुपका विकास गरिने बताए ।

प्रदेश १ का १९ भन्दा बढी पालिकाहरूमा स्मार्ट सिटी बनाउने योजनामा सरकारले काम गरिरहेको उल्लेख गर्दै त्यस्ता सिटीमा सबै पुर्वाधार रहने मुख्यमन्त्री राईले बताए । ‘हामी प्रदेश १ को राजधानीलाई एउटा स्मार्ट सिटीको रुपमा विकास गरेर अघि बढ्दैछौँ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसका लागि सबै पालिकाहरुले काम अघि बढाउँदै हुनुहुन्छ, त्यहाँ व्यवस्थित विकास हुनेछ ।’

प्रदेश १ को राजधानी भएको महानगर विराटनगर महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले सीमित साधन श्रोत भएपनि कोषको वित्तीय सहजीकरणका कारण विकास निर्माणका कामले महानगरपालिका क्षेत्रमा गति लिएको बताए । ‘नगर क्षेत्रभित्र नगरविकास कोषको सहयोगमा दर्जनौँ आयोजनाहरू निर्माण भइरहेको छ,’ मेयर पराजुलीले भने, ‘नयाँ सहर निर्माणका लागि कोषले सहयोग गर्नुपर्छ । म कोषसँग आग्रह गर्दछु ।’

कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले नगरहरूलाई स्वच्छ, हराभरा र व्यवस्थित गर्न सबै नगरपालिकासँग हातेमालो गरेर अघि बढ्न कोष तयार रहेको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक वेन्जन, कोषका सदस्य एवं दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले नगर विकास कोषलाई विश्वास गरेर सबै नगरपालिकाले सहयोग लिएर नगरको विकास गर्न सकिने बताए ।

नेपालभरी नगरविकास कोषका १२ आयोजना संचालनमा रहेकोमा १२ अर्बभन्दा बढी कोषको लगानी रहेको नगर विकास कोषले जनाएको छ । प्रदेश १ मा कोषको सबैभन्दा बढी लगानी भएको बताइएको छ ।

प्रतिक्रिया