बैतडीको सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु

काठमाडौं । बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरु गरिएको छ ।

गाउँपालिका-१ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ ।

उनले भने, ‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात् सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन शुरु गरिएको छ ।’ सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए ।

सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुंगामा फलाम भेटिएको बताएको छ ।

फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिस दिएर काम शुरु भइसकेको हो । उनले भने, ‘चीनका विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको छ ।’

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए ।

फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

उनले भने, ‘खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ ।’ खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्‍याउनेलगायतका काम पनि भइरहेका छन् ।

यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ ।

प्रतिक्रिया