भाडादर बढाउन माग गर्दै यातायात व्यवसायीद्वारा सेवा ठप्प

काठमाडौं । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ ।

जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले ३५० रुपैयाँबाट भाडा घटाएर ३०० रुपैयाँमा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए ।

‘हामीले दुई स्थानीय तहले ३०० कर उठाउँदा मारमा परेर पनि ३५० मै यात्रु बोकियो, घटाइएको भाडामा यात्रु बोक्न सम्भव नभएपछि व्यवसायीको सामूहिक निणर्यबाट गाडी बन्द गरिएको हो,’ पौडेलले भने, ‘दर्जनौँ जीपधनी र चालकको रोजीरोटीसँग जोडिएको व्यवसाय धरापमा पारेर कसरी काम गर्न सकिन्छ, पुरानो भाडा कायम गर्ने निर्णय नभएसम्म गाडी बन्द हुन्छ नै ।’

जीप व्यवसायीहरुले क्षमताभन्दा बढी मान्छे हाल्न पाउनुपर्छ भनेर कानुनमा नभएका कुरा गरेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

‘तिनै व्यवसायीको तीव्र गुनासोपछि दुई स्थानीय तहले नियमविपरीत राखेका स्थानीय तहका ढाट हटाइयो, उनीहरुले नियमित तिर्ने कर घटेपछि भाडा पनि ५० रुपैयाँ घटाइएको हो,’ पाण्डेले भने, ‘सर्वसाधारणको सेवा सुविधालाई ध्यानमा राख्दै सबै कुरा व्यवहारिक रुपमा हेरिएको छ, तैपनि व्यवसायीहरू आफूखुसी गर्छन् ।’ सर्वसाधारण र व्यवसायी दुवै पक्षलाई मर्कामा नपर्नेगरी भाडादर समायोजन गरिएको र जीप बन्द गरेपछि व्यवसायीलाई नै समस्या पर्ने पाण्डेले बताए ।

सुँपानी–दुनैको १४ किमी सडकमा महँगो भाडा उठाएर सर्वसाधारण मर्कामा परेको भन्दै केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले भाडा ३५० रुपैयाँबाट घटाएर ३०० रुपैयाँमा झारेको थियो ।

जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाले विभिन्न ठाउँमा राखेका कर सङ्कलन केन्द्रहरु अवैधानिक भन्दै प्रशासनले उठाएपछि भाडा घटाइएको घोषणा गरिएको थियो ।

तर प्रशासनले निर्णय गरेको दुई दिन नबित्दै जीप व्यवसायीहरुले यातायात सेवा ठप्प पारेका हुन् । दुनै–सुपाँनी सडकखण्डमा दुई दर्जनभन्दा धेरै जीपहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया