प्रधानमन्त्री पद प्राप्त गरेपछि ओलीले जनताको हितमा आँच पुर्‍याए : विपक्षी एमाले (वक्तव्यसहित)

काठमाडौं । विपक्षी एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिसँग साठगाँठ गरेर कम्युनिष्ट पार्टीलाई कमजोर बनाएको निष्कर्ष निकालेको छ ।

माधवकुमार नेपाल नेतृत्वको यो समूहले मंगलबार संयुक्त विज्ञप्तिमार्फत यस्तो खाले आफ्नो निष्कर्षबारे जानकारी दिएको हो । ‘नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी बाह्य साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो,’ वक्तव्यमा भनिएको छ, ‘यस्तो कार्यविरुद्ध आवाज उठाउनु २००६ सालदेखि नै देशभक्तिको झण्डा उठाउँदै आएको कम्युनिष्ट पार्टीका सबै सदस्यहरुको कर्तव्य हुन्थ्यो । हामी त्यहीँ कर्तव्य पूरा गर्न अग्रसर थियौँ ।’

यस्तै यो समूहले दुई नेता (नेपाल र भीम रावल) माथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्ने अध्यक्ष ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने यो समूहको निष्कर्ष छ ।

अध्यक्ष ओलीले सोमबार मात्र नेताद्वय नेपाल र रावललाई पार्टी सदस्यबाटै निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसपछि आज बसेको यो समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले कारबाहीको निर्णय विधानविपरीत भएको निष्कर्ष निकालेको हो । वक्तव्यमा भनिएको छ, ‘यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो । यस्तो पार्टी विधान, पद्धति र मान्यताविपरीतको कार्यको हामी तर्त्सना गर्दर्छौं ।’

प्रतिक्रिया