बम विस्फोट गराएको आरोपमा सिरहामा दुई पक्राउ

सिरहा । सिरहाको लहान मालपोत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका- ५ का रामरिझन यादव र लक्ष्मीपुरका अभिमन्यू गिरी रहेको प्रहरीले जनाएको छ ।

गत चैत १ गते मालपोत कार्यालयको पहिलो तलामा भएको प्रेसर कुकर बम विस्फोटमा आठजना घाइते भएका थिए भने कार्यालयमा समेत क्षति पुगेको छ । घटनाकै दिन तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहले जिम्मा लिएको थियो ।

पक्राउ परेका यादवले रामकुमार यादवले फागुन २६ गते ठाडी भन्ने ठाउँमा आफूलाई प्रेसरकुकर बम दिएको र मालपोत कार्यालयमा पड्काउन लगाएको बताएको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

रामरिझन २०७४ चैत ९ गते विकास ज्वेलर्समा भएको बम विस्फोटमा पक्राउ परी जिल्ला अदालत सिरहाबाट १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यस्तै २०७५ साउन ३१ गते विराटनगर उपमहानगरपालिकामा भएको बम विस्फोटको मुद्दामा पनि पक्राउ परी धरौटीमा छुटेका थिए।

गिरी र यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १/१ र त्यसको गोली २/२ थान बरामद गरेको छ ।

प्रतिक्रिया