चीनले खोप उपलब्ध गराउँदा दुई देशबीचको सम्बन्ध अझ राम्रो बन्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनुले दुई देश बीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको बताएका छन् । सोमबार बालुवाटारमा राखिएको खोप हस्तान्तरण तथा ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

चीन सरकारद्धारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी ढंगले अगाडि बढ्नको निम्ति महत्वपूर्ण हुने पनि प्रधानमन्त्री ओलीले बताए । ‘कोभिड १९ महामारीका विरुद्धको हाम्रो लगानी त्यसलाई सफलतापूर्वक अगाडि लैजानका लागि अझ प्रभावकारी ढंगले अगाडि बढाउनको निम्ति यो एउटा महत्वपूर्ण सहयोगको रुपमा रहनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र चीनबीचको गहिरो मैत्री सम्बन्धलाई उजागर गरेको छ र एक कदम अगाडि बढाएको छ ।’

चीनले कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई खोप हस्तान्तरण गरेकी छन् ।

प्रधानमन्त्री ओलीले अनुदानको अलावा खोप खरिद गर्ने व्यवस्था मिलाउँदै गरिएको बताए । उनले भारत र चीन दुवै देशबाट ल्याइएको खोपहरु प्रभावकारी रहेको पनि बताए । उनले भने, ‘दुईवटै भ्याक्सिन प्रभावकारी छन् । तर आ–आफ्नै डोज गर्नुपर्छ । कुनै प्रकारको हिच्किचाहट हुनुपर्ने, अन्योलमा पर्नुपर्ने आवश्यकता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहान्छु ।’

कोभिड–१९ महामारीलाई पराजित गर्न चीनले लिएको नीति र कदमको प्रशंसा गर्दै नेपाल र चीनको नीति समान रहेकोसमेत ओलीले बताए । कार्यक्रममा चिनियाँ राजदूत यान्छीले कोभिड–१९ को विरुद्ध लड्नका नेपालको साथम चीन सधैं रहेको बताइन् । विगतमा पनि नेपाललाई चीन सरकारको सहयोग रहेको र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पनि सहयोग रहने स्पष्ट पारिन् ।

प्रतिक्रिया