‘संसद् विजनेशविहीन भएर अन्त्य हुने सम्भावना धेर’ (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले विजनेश नदिँदा औपचारिकतामै सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक बोलाइएको छैन । त्यसकारण पनि प्रतिनिधि सभा विजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ ।

संघीय संसद् दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहरु परिपूरक भएर सम्पादन गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि अधिवेशन बोलाइएपनि विजनेश नपाउँदा अहिलेसम्म बसेका बैठक औपचारिकतामै सीमित बन्न पुगेका हुन् ।

संसद्लाई प्रभावकारी बनाउन अहिले राष्ट्रिय सभाको बैठक पनि बोलाउनुपर्ने माग उठिरहेको छ । सरकारले विजनेश छैन भनिरहँदा प्रतिनिधि सभाको बैठकमा सम्पूर्ण प्रक्रिया सकिएका ४ विधेयक राष्ट्रिय सभाको लागि विजनेश हुने देखिन्छ ।

प्रतिनिधि सभामा ३६ वटा विचराधीन अवस्थामा रहेका विधेयकहरुमध्ये ४ वटा विधेयक प्रतिनिधि सभामा पेश भएर रहेको अवस्थामा अगाडि बढाउन सकिने संघीय संसद्का सह–प्रवक्ता दशरथ धमलाले बताए । ‘ती चार विधेयकलाई अगाडि बढाउन सकिन्छ,’ धमलाले भनेका छन्, ‘सभामा पेश गर्न तयारी अवस्थाका विधेयकहरुलाई पनि अगाडी बढाउन सकिन्छ ।’

यता प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्नुपर्ने अध्यादेशहरु अहिलेसम्म (एकवटा बाहेक) पेश भएका छैनन् । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न जारी गरिएको अध्यादेश मात्र सभामा पेश भएको छ । कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलले विरोध गरेको अध्यादेश संसद् बैठकमा टेबल भइसकेको र बाँकी अध्यादेशमा विरोध नै नरहेको अवस्थामा पनि अध्यादेश प्रतिनिधि सभा बैठकमा पेश भएका छैनन् ।

संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालू प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निष्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ भन्नेबारे नियमावालीमा स्पष्ट व्यवस्था नभएको सह–प्रवक्ता धमलाको भनाइ छ ।

सत्तारुढ दलभित्रको अन्तरकलह र विपक्षी दलको निष्क्रियताले संघीय संसद्को दुवै सदन निस्काम बनेका छन् । प्रतिनिधि सभाले विजनेश नपाएर अन्त्य हुने अवस्थामा पुगेको छ भने सरकारले विभिन्न प्रयोजनको लागि जारी गरेको अध्यादेश पनि संसद् बैठकमा पेश नभइ निष्क्रिय बन्ने देखिन्छ ।

प्रतिक्रिया