स्वेज नहरमा जहाज फस्दा प्रतिघण्टा ४६ अर्ब घाटा

काठमाडौं । इजिप्टको स्वेज नहरमा फसेको भीमकाय मालबाहक जहाज फस्दा विश्व अर्थतन्त्रमा प्रत्येक घण्टा ४६ अर्ब रुपैयाँभन्दा बढी घाटा भइरहेको अनुमान गरिएको छ । जहाज फसेका कारण प्रतिघण्टा ४० कराेड डलरबराबरको घाटा भइरहेको अनुमान गरिएको हो । जहाज फसेको आइतबार पाचौं दिन भएको छ ।

चीनबाट सामान बोकेर स्वेज नहर हुँदै नेदरल्याण्डको रोटेडम सहरको सामुद्रिक तटतर्फ जाँदै गरको जहाज तेज हावाको कारण लय गुमाएर नहरमा फसेको बताएएको थियो । चारसय मिटर लम्बाई र ५९ मिटर चौडाइको ‘इभर ग्रिन’ नामको जहाज फसेको हो ।

सन् १८६९ मा बनेको यो नहर १ सय ९३ किलोमिटर लामो छ । यो नहरले भूमध्य सागर र हिन्द महारागरलाई जोडेको छ । कतिपय स्थानमा नहरको चौडाइ जम्मा २ सय ५ मिटर मात्रै छ । उक्त नहरबाट सामान लिएर निस्कने तयारी गरिरहेका १८५ मालबाहक नहरमै जाममा परेका छन् । नहरमा ट्राफिक जामकै अवस्था सिर्जना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जलमार्गमा पर्ने नहरलाई जाम मुक्त पार्ने र जहाज निकाल्ने प्रयास जारी भएपनि सफलता हात पर्न सकेको छैन । जहाज फस्दा विश्वव्यापी पारवहन तथा व्यापारका लागि महत्वपूर्ण स्वेज नहर बन्द भएको छ ।

यसैबीच, स्वेज नहर प्राधिकरण अधिकारी लेफ्टिनेन्ट जनरल ओसामा राबेइका अनुसार उक्त विशाल जहाज नहरमा फस्नुको कारण तेज हावा मात्रै होइन ।

उनका अनुसार जहाज फस्नुमा मानवीय तथा प्राविधिक कमजोरीको आशंका गरिएको छ । एसिया र युरोपमा सामान लैजाने पनामाको ध्वजाबाहक जहाज मंगलबार नहरमा फसेको थियो । पोर्चुगलको एक कम्पनीले समुद्रमा उठ्ने लहर र डुँगाहरुको मद्तले जहाज निकाल्ने कोसिश गररहेको भए पनि सफलता कहिले प्राप्त हुन्छ भन्न सकिने अवस्था नरहेको खबरहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया