काठमाडौंबासीका घर-घरमा मेलम्ची !

काठमाडौँ । मेलम्चीको पानी पिउने उपत्यकाबासीको प्रतिक्षाको घडी सकिएको छ । सुन्दरीजलमा प्रशोधन भएर आजदेखि काठमाडौंका घरघरका धारामा वितरण गर्न लागिएको हो ।

योसँगै मेलम्चीको पानी पिउँने काठमाडौं उपत्यकावासीको वषौंदेखिको सपना पूरा हुने भएको हो । गत फागुन २२ गते सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा खसालिएको पानी आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)कै पाइपलाइनबाट वितरण गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

उनका अनुसार आज र भोली दैनिक ४ करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ । उपत्यकाका तीनवटै जिल्लामा मेलम्चीको पानी वितरण हुने भए पनि पहिलो चरणमा काठमाडौं जिल्लाका पनि सिमित ठाउँमा मात्रै पानी पठाउने तयारी छ ।

कहाँ-कहाँ वितरण हुँदैछ मेलम्चीको पानी
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना-२ आयोजना निर्देशनालयले जनाएको छ ।

बीडीएसले एकैचोटी १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने प्रवक्ता पन्तले जानकारी दिएका छन् । ‘चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेका छौं । सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेछौं’, उनले भने, ‘चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गर्ने छौं ।’

मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।

प्रतिक्रिया