संसद्लाई जीवन्त बनाउने कोसिसमा छु : सभामुख (भिडिओ)

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसद्लाई जीवन्त बनाउन कोसिस गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । पछिल्ला घटनाक्रमले संसद्लाई जीवन्त बनाउन चुनौती थपेको सभामुख सापकोटाको भनाइ थियो । ‘तर, पनि ठूला–ठूला बहसपछि संसद्ले गति लिन थालेको छ,’ सापकोटाले भने, ‘अब जनताको अपेक्षाअनुसार काम गर्नेछ ।’

गत पुस ५ गते देखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि सापकोटाले बताए । उतारचढाव र महान् बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र योबिचमा समुन्द्र मन्थन भइ संसद्ले पुनः गति लिएको सभामुख सापकोटाको भनाइ थियो । ‘अहिले हामी एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौँ,’ सापकोटाले भनेका छन्, ‘पहिला पहिला भनिने गरिन्थ्यो, समुद्र मन्थन– त्यस्तै गरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस गर्यौं । त्यो बसहको बिचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् ।’

संसद्मा जनअपेक्षाअनुसार काम नभएको सापकोटाले स्वीकारेका छन् । ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसद्ले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैनकी भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, यहाँ सबैतिरबाट तपाईँहरुले उठाउनुभएको छ, त्यसलाई म उच्च सम्मान गर्छु ।’

प्रतिक्रिया