तीन बुँदे सहमतिपछि पनि विप्लव नेता पक्राउ

काठमाडौं । सरकार र विप्लव समूहबिच तीन बुँदे सहमति भएपछि पहिलो पटक विप्लव नेतृत्वका नेता पक्राउ परेका छन् । समूहका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’लाई प्रहरीले पक्राउ गरेको हो ।

ताप्लेजुङकी सहायक प्रजिअ गायत्रा अधिकारी खड्काले मकालु खबरलाई दिएको जानकारीअनुसार लिम्बुलाई बिहीबार नै प्रहरीले पक्राउ गरेको हो । ‘उहाँ हिजै पक्राउ पर्नुभएको हो भन्ने छ,’ खड्काले भनिन्, ‘प्रहरीले उहाँलाई हिरासतमा लिएको छ ।’

मेची–कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेका सक्कललाई प्रहरीले पक्राउ गरेको हो । यता प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियारसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको प्रकाशले आफ्नो विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

आफ्ना नेता गिरफ्तार हुनुले सहमतिप्रति सरकारको इमान्दारितामाथि प्रश्न उठेको प्रकाशले उल्लेख गरेका छन् ।  सहमतिअनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता गिरफ्तार हुनुले सरकारको नियमप्रति शंका गर्ने अवस्था पैदा भएको विज्ञप्तिमार्फत् भनिएको छ ।

सरकार र विप्लव समूहबिच यसअघि नै तीन बुँदे सहमति भएको थियो । सहमति पत्रमा पक्राउ परेका सबै नेता/कार्यकर्ताहरु रिहा हुनेलगायतका सहमति छन् ।

यसबिचमा महासचिव नेत्र विक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना सहकर्मी कहिले छुट्छन् भनि प्रश्न गरेका थिए ।

प्रतिक्रिया