टिकापुर घटना : धर्ना स्थगित गरी वार्तामा आउन गृहमन्त्रालयको आग्रह

काठमाडौं । गृहमन्त्रालयले कैलालीको टीकापुर घटनाको सम्बन्धमा जारी धर्ना स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ ।

थारु कल्याणकारी सभा थारुहट/थारुवान संयुक्त संघर्ष समितिले विभिन्न १९ बुँदे माग राखी केही दिनदेखि गरिरहेको धर्ना कार्यक्रममा शुक्रबार नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आन्दोलनकारीलाई वार्ताका लागि पत्र दिएका हुन् ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा बादल धर्नास्थल माइतीघरमा पुगेर आन्दोलनकारीलाई भेटेपछि आज (शुक्रबार) सरकारले यस्तो पत्र पठाएको हो ।

‘जुनसुकै समस्याको समाधान पनि शान्तिपूर्ण‚ वार्ता एवं छलफलको माध्यमबाट गर्न सकिन्छ भन्ने कुरामा सरकार विश्वस्त छ‚’ गृहमन्त्री थापाद्वारा हस्ताक्षरित उक्त सूचनामा भनिएको छ‚ ‘तसर्थ त्यस सभाले उठाएका १९ बुँदे मागहरूको सम्बन्धमा पनि वार्ता एवं छलफल गरी सहमतिमा पुग्न जारी धर्ना स्थगित गरी हार्दिक आह्वान गर्दछु ।’

प्रतिक्रिया