चेम्बर पदाधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ ।

उक्त अवसरमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।

छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक  वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराएका थिए ।

उनले नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउँदै नेपालमा लगानी गर्न आग्रह समेत गरेका थिए ।

नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानी लगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उनले राजदूत शाहलाई सुझाव दिए ।

चीनले नेपाललाई आठ हजार बस्तुहरूमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उनले जानकारी गराए ।

अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स-सेलर्स मिट’ गर्न प्रस्ताव गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे ।

प्रतिक्रिया