नर्भिकले टेस्टट्यूब बेबी सेन्टर संचालनमा ल्याउने

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलमा अब बाँझोपनको अत्यधुनिक प्रविधिबाट उपचार हुने भएको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि भित्र्याएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन केन्द्र स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको अस्पतालले जनाएको छ ।

नर्भिकले २ महिनाभित्रमा छुुट्टै आइभिएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन लागेको नर्भिक इन्टरनेसनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले जानकारी दिइन् ।

नेपालकै चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले उपचार सेवा प्रदान गर्ने अस्पतालले जानकारी दिएको छ ।

नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरूमध्येकै अत्यधुनिक एवम् सुविधायुक्त हुने डा. नूतन शर्माले जानकारी दिइन् ।

विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्यधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि-जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत संचालन हुने अस्पतालले जनाएको छ ।

नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि-जेनेटिक डाइग्नोसिस सेवा संचालनमा आउन सकेको छैन । प्रि-जेनेटिक डाइग्नोसिसमार्फत् स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ ।

जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण हुने चिकित्सकको भनाइ छ ।

नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्री रोग, प्रसूति सेवाका साथै निःसन्तान दम्पतिहरुका लागि उपचार सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया