११ चैत: लकडाउनको स्मृति !

काठमाडौँ । कोभिड-१९ को थप संक्रमण रोक्न भन्दै नेपालमा लकडाउनको घोषणा भएको १ वर्ष पूरा भएको छ । गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो । झन्डै चार महिना लामो लकडाउन साउन ७ गतेबाट अन्त्य गरिएको थियो ।

नेपालले लकडाउन घोषणा गर्ने दिनभन्दा दुई दिन अगाडि भारतमा जनता कफ्र्यू लागेको थियो । घुम्दैफिर्दै रुम्जाटार भनेझैं आज हामी पुनः हामी त्यही अवस्थामा पुगेको कतिपयको भनाई छ । भन्नुको अर्थ- छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ र केहि राज्यमा लकडाउन घोषणा गरिएको छ । योसँगै नेपालमा त्रास बढेको छ । धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ?’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को साप्ताहिक इपिडिमियोलजिकल अध्यावधिक विवरणअनुसार कोभिडको नयाँ संक्रमण विश्वव्यापी रूपमा बढिरहेको छ । गत साता १० प्रतिशतले संक्रमण बढेसँगै कोभिडको ३० लाखभन्दा बढी नयाँ केस रिपोर्ट गरिएको छ । भारतमा पछिल्लो समय ३० प्रतिशतले नयाँ केस थपिएको छ ।

भारतका विभिन्न राज्यमा स्थानीय सरकारले लकडाउन गरेकाले त्यहाँ काम गरिरहेका नेपाली पुनः नेपाल फर्कने सम्भावना छ । त्यो हुँदा नेपालमा पनि संक्रमण फैलिने खतरा रहन्छ । अहिले पनि नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि उकालिन थालेको छ । संक्रमित संख्या झिनो रूपमै बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्छ । सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु हुनसक्छ ।

के फेरि लकडाउन हुन्छ ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम गत वर्षझैं मुलुकभर पुनः लकडाउन घोषणाको सम्भावना नरहेको बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनको अनुरोध छ ।

संक्रमण बढ्न सक्ने भएकाले सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक-भौतिक दूरी राख्नु र मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको उनले दोहोर्याए । ‘सरकारले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन तयारी गरेको छ । विशेषगरी मन्त्रालयबाट बनाइएका स्वास्थ्यका न्यूनतम मापदण्डहरुलाई पालना गर्नु पर्यो,’ प्रवत्ता गौतमले मकालु खबरसँग भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेमा कोरोनाको चेन ब्रेक हुन्छ । तत्कालै लकडाउनको योजना छैन ।’

एन्टिजेन परीक्षण र घरमा बस्न नसक्नेलाई क्वारेन्टाइनको व्यवस्था गरिएको गौतमले बताए । उनले भने, ‘म फेरि पनि भन्छु- जनस्वास्थ्यका मापदण्ड पालनालाई जोड दिनुपर्छ। संक्रमण बढेकाले भौतिक दूरी कायम गर्नुपर्छ । मास्क लगाउनुपर्छ । साबुनपानीले राम्रोसँग हात धुनु वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।’

सुरक्षामा कडाई गर्नू
संक्रमणको जोखिम पुनः बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न निर्देशन दिइएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि सीमामा कडाई गर्न, स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउन, अनावश्यक भीडभाड बन्द गराउन निर्देशन दिइएको प्रवक्ता बुढाको भनाई छ ।

प्रतिक्रिया