नेपालमा कोरोनाको दोस्रो लहरको त्रास कति ?

  • नृप रावल

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्यो र भन्यो- कोभिड-१९ संक्रमण बढेकाले आवश्यक सतर्कता अपनाउनुहोस् । हुन पनि छिमेकी मुलुकमा भाइरस संक्रमण दिनदिनै बढ्दो क्रममा छ । जसले गर्दा नेपालमा फेरि जोखिम देखिएको हो ।

नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको संक्रमण दर फेरि उकालिन थालेको छ । संक्रमित संख्या झिनो रूपमै बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्छ । समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न ।

आम नागरिकदेखि सबै तहले कोभिड-१९ को दोस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु/गराउनु अत्यावश्यक भएको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईसीडीसी)का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइराला बताउँछन् । अहिल्यै ध्यान नदिए पुनः संक्रमण फैलिने र दोस्रो लहर सुरु हुने खतरा रहेको उनको बुझाइ छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण छिमेकी मुलुकसहित अन्य देश झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने उनको चेतावनी छ । ‘भारतमा संक्रमण बढेसँगै हामी दोस्रो लहरको उच्च जोखिममा परिसकेका छौं,’ वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘यो अवस्थामा सरकारले आवश्यक कदम चाल्नु गर्नुपर्ने देखिन्छ ।’

जनस्वास्थ्यका मापदण्ड पालनामा उदासीनता
कोभिड-१९ विरुद्धको खोप नेपालमा भित्रिएपछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न हेलचेक्र्याइँ देखिएको छ । अधिकांशले मास्क लगाउन छोडिसकेका छन् भने सार्वजनिक स्थलमा भीडभाड र सभा, गोष्ठी र सम्मेलनमा पनि आवश्यक सतर्कता अपनाइएको हुँदैन ।

बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ । जोखिम रोक्न सीमानाकामा अनपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरबाही भइरहेको देखिएको जनस्वास्थ्यविद्हरु बताउँछन् । जसले गर्दा सम्भावित जोखिमको खतरा बढेको हो ।

अहिलेदेखि नै सावधानी अपनाउन नसके होलीपछि संक्रमण बढ्न सक्छ । भारतमा रोजगारीबाट फर्केका नेपालीबाट गाउँ-गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ । नयाँ वर्षसँगै संक्रमणको दोस्रो लहर देखा पर्न सक्नेतर्फ सरकारले ध्यान दिन जरुरी छ ।

सरकारी सावधानी कस्तो ?
भारतमा हरेक दिन हजारौं संक्रमित हुन थालेपछि नेपाली स्वदेश फर्कने क्रमसँगै फेरि जोखिम बढेको हो । यस्तो बेला सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।

नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक-भौतिक दूरी राख्नु र मास्कको अनिवार्य प्रयोग गर्न उनले अनुरोध गरे । स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय सरकारलाई नयाँ निर्देशन जारी गरेको छ ।

स्थानीय तहका स्वास्थ्य सम्बद्ध निकायलाई थप संक्रमण फैलन नदिन ‘केस इन्भेस्टिगेसन’ र ‘कन्ट्र्याक्ट ट्रेसिङ’मा जोड दिन भनिएको प्रवक्ता गौतमले बताए । ‘संक्रमण हुन सक्ने क्षेत्र हट स्पट पहिचान गरी समुदायमै एन्टिजेन टेस्ट वा पीसीआर जाँच गर्न सकिनेछ’, उनले भने, ‘स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थालाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा भनेका छौं ।’

यस्तै सीमावर्ती सबै प्रवेश विन्दुमा रहेका हेल्थ डेस्कमा स्क्रिनिङ गर्न, सम्भव भए कोभिड-१९ को एन्टिजेन जाँचको पनि व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालय र हेल्थ डेस्कलाई भनिएको छ । बाहिबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न भनिएको छ ।

-स्वास्थ्य मन्त्रालयको विज्ञप्ति :-

प्रतिक्रिया