अविश्वासको प्रस्ताव पास गरेर ओलीलाई हटाएर देखाऊ : शिक्षामन्त्री श्रेष्ठ

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउन चुनौति दिएका छन् । उहाँले सबैभन्दा ठूलो पार्टी एमाले भएकाले सबै दल मिलेर पनि हटाउन नसक्ने चेतावनी दिएका छन् ।

‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबैभन्दा पावरफुल सरकार यही हो यसलाई कसैले हटाउन सक्दैन‚’ उनले भने ।

ललितपुरमा आयोजित क्षेत्र नम्बर ९ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले सके अविश्वासको प्रस्ताव ल्याएर देखाउन चेतावनी दिए । उनले भने‚ ‘यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार हो, यो सरकारलाई कसैले हटाउन सक्दैन ।’

पार्टीको विधानविपरीत गुटको भेला गरेका कारण एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको विषयमा बोल्दै राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको चर्चा गरे ।

एमाले भएर पार्टी अध्यक्षमाथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरुमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रकृया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भएअनुसार गरिनेछ ।

उनले भने‚ ‘स्पष्टीकरण सोधेका नेताहरूको जवाफ पर्खेका छौँ, उचित समयमा विधानअनुसार कारबाही प्रकृया अघि बढाउने छ ।’

मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रकृया अघि बढाइएको उल्लेख गरे । ‘उहाँहरूलाई पार्टीले रहर गरेर स्पष्टीकरण सोधेको होइन, विधि, प्रकृया र नियम मिचेकाले पार्टीको पूर्ण बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधेका हौँ ।’
प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द (विप्लव) र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मूल धारमा ल्याउन सफल भएको चर्चा गरे ।

उनले प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको उल्लेख गर्दै बुहारी एवं खानेपानीमन्त्री बिना मगरका कारण मेलम्चीको पानी आउन नसकेको टिप्पणी गर्दै ओली सरकारले एक वर्षअघि नै पानी ल्याउने तयारी गरिसकेको बताए । त्यसबेला खानेपानी मन्त्रीकै कारण रोकिएको बताउँदै उनले अब मेलम्चीको पानी उपत्यका छिरिसकेको र केही दिनमै घरघरमा पानी आउने दावी गरे ।

उनले भने‚ ‘अब चैत १५ गते घरघरमा मेलम्चीको पानी आउनेछ, यो सरकारको यो अति महत्वपूर्ण सफलता हो । यसले प्रचण्डको अर्को योजना असफल भएको छ ।’

अगुवा कार्यकर्ता भेलामा उनले आफ्नो निर्वाचन क्षेत्र नमूना क्षेत्र भएको बताउँदै अझै थप योजनासहितको काम गर्न बाकी रहेको बताए ।

प्रतिक्रिया