एमाले विवाद चर्कंदै, स्पष्टीकरण नदिए कारबाही गर्ने सत्तापक्षकाे तयारी, विपक्षी एमाले भन्छ-पार्टी बैठक नै अवैध

काठमाडौं । विपक्षी एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सत्तापक्षीय एमालेले स्पष्टीकरण माग गरेको छ । पार्टी महासचिव ईश्वर पोखरेललाई उद्धृत गर्दै नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरसँग भने–‘स्पष्टीकरण पत्र पार्टी कार्यालयबाट पठाइसकिएको छ । उहाँहरुले पाइसक्नुभयो पनि भयो ।’

स्पष्टीकरण नदिए पार्टीले आवश्यक कदम चाल्ने नेता नेम्वाङ्गको भनाइ छ । स्पष्टीकरण नदिए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा नेता नेम्वाङ्गले भने– ‘त्यो त पार्टीले पछि निर्णय गर्ने कुरा हो । तर, मलाई जहाँसम्म लाग्छ उहाँहरुले दिनुहुन्छ । दिनुभएन भने त पार्टीले विधानअनुसार कदम चाल्ने कुरा होला ।’

विपक्षी एमालेका नेता भीम रावलले भने आफूले स्पष्टीकरण अस्वीकार गरेको बताए । ‘त्यो स्पष्टीकरण हाँस्यास्पद छ,’ नेता रावलले मकालु खबरसँग भने, ‘जुन केन्द्रीय कमिटीबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ, त्याे बैठक नै अवैध छ, समिति नवौं महाधिवेशनको विधानलाई मिच्दै बनाइएको हो, यसको अर्थ देखिँदैन, त्यसैले स्वीकार गर्ने कुरै छैन ।’

विपक्षी एमालेका नेता योगेश भट्टराईले पनि सोध्नेले नै लाखौं प्रश्नको उत्तर दिनुपर्ने बताएका छन् । ‘जो सोध्नेहरु छन्, उनीहरु पनि लाखौं प्रश्नको घेरामा छन् ।’

गत शनिबार बसेको सत्तापक्षीय एमालेको केन्द्रीय कमिटी बैठकले नेपालसहितका चारजना नेतालाई ‘तीन दिनभित्र चित्तबुझ्दो जवाफ नआए किन कारबाही नगर्ने ?’ भन्ने ब्यहाेराकाे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठक नै अवैध
गत फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष बैठक राखेर पूर्वमाओवादी पृष्ठभूमि भएका २३ जना नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । बैठकले अध्यक्ष र महासचिबबाहेक सबै पद खारेज गर्ने निर्णय पनि गरेकाे थियाे ।

विपक्षी एमालेका नेताहरुले याे बैठक नै अवैध भएको दाबी गर्दै आएका छन् । बैठकका निर्णय नै नवौं महाधिवेशनको विधानलाई मिच्ने खालकाे भएको उनीहरुको दाबी छ ।

नेता रघुजी पन्तले मकालु खबरसँग भने– ‘हामी बैठकको निर्णय मान्दैनौँ । सर्वोच्च अदालतले हामीलाई पूर्ववत् अवस्थामै फर्काइदिएको हो । यसरी पूर्ववत् अवस्थामै फर्किँदा पार्टी पदाधिकारी पनि पहिलेकै मात्रै हुनुपर्यो नि । पार्टी चाहिँ साविककै अवस्थामा गयो भन्ने अनि नयाँ गतिविधि गर्ने त पाइएन । त्यसैले हामीले नमानेका हौँ ।’

नेतृ अष्टलक्ष्मी शाक्यले पनि पार्टी अध्यक्ष विधानअनुसार नचलेको टिप्पणी गर्छिन् । ‘हामी बैठकको निर्णय नै मान्दैनौँ,’ नेतृ शाक्यले मकालु खबरसँग भनिन्, ‘पार्टी नै बैठक नै अनि निर्णय नै अवैध छ । त्यसकारण हामी मान्दैनौँ ।’

प्रतिक्रिया