मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मानव हुन पाउँ भन्नु अपराध हो र ?

  • दिपा नेपाली

मेरो लागि अदालत विश्वविद्यालयजस्तै भएको छ । पढ्ने किताब मिसिल र कक्षा बनेको छ काठमाडौं जिल्ला अदालतको इजलाश नं. १९ । म दैनिकजसो अन्यायको मिसिल बोकेर कहिले काठमाडौं जिल्ला अदालत, कहिले सरकारी वकिलको कार्यालय, कहिले बालाजु प्रहरी कार्यालय, कहिले प्राइभेट वकिलको कार्यलय धाइरहेको छु ।

मैले विभेदको मुद्दा लड्न लागेको ठिक १ वर्ष पुग्यो । हरेश खाएको छैन । म न्याय पाउनका लागि अझै धेरै न्यायका दैलाहरु धाउन तयार छु । अझै धेरै सास्ती खेप्न तयार छु । मेरो एउटै सपना छ मेरो एउटै आशा छ मैले न्याय पाउने । आशा यो पनि छ कि, मैले पाउने न्याय मेरा लागि मात्र होइन, कुनै एक समुदायका लागि मात्र पनि होइन, विभेद नहोस् भन्ने चाहने, मानिस-

मानिसका बिचमा कुनै भेद छैन भन्ने मान्ने हर एक मानिसका लागि खुसीको कुरा हुनेछ ।

घरबेटीले मागेजति भाडा तिरेर कोठामा बस्न थालेका म र मेरा भाइबहिनीलाई हाम्रो जात थाहा पाएपछि जुन विभेद गरियो, त्यो चुपचाप सहेर बस्न सक्ने अवस्था थिएन । किनभने आफूमाथि भएको विभेद थाहा पाएर/नपाएर सहने बानीका कारण विभेद र हेपाहा प्रवृत्ति झन् झन् बढ्दै गएको हो भन्ने मलाई लाग्छ । पूर्खाहरुले, अग्रजहरुले आफूलाई पशुभन्दा तल्लोस्तरको व्यवहार गर्दा पनि चुपचाप त्यसलाई सहेकै कारण आफूमाथि हुने विभेद आफ्नो भाग्यको वा कर्मको वा पूर्वजन्मको फल हो भन्ने माने । त्यसैकारण विभेदकारी समाज, राज्य र समग्रमा यही चिन्तन हावी हुँदै गएको हो । यसैकारण देशमा बनेका कानुन पनि लागू हुन सकेनन् । शायद मलाई अन्याय भयो भनेर विभेदमा परेकाहरू कानूनको शरणमा नै कममात्र पो पर्यौँ कि भन्ने मलाई लाग्छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका-१० नेपालटारस्थित श्रीकृष्ण बिडारीको घरमा हामी चार जना भाइबहिनी २०७६/०८/१३ गतेदेखि डेरामा बसेका थियौँ । डेरामा बसेकै साँझ घरबेटीकी छोरी शर्मिलाले परिचय सोधेकी थिइन् । हामी दलित समुदायका हौं भन्ने थाहा पाएपछि नै घरबाट निस्कनुपर्छ बन्ने दबाब शुरु गरियो । घरबेटीले दैनिकजसो दबाब बढाउँदै लगे । कोठा दिनुभन्दा पहिले थर थाहा नभएकाले दिएको र थाहा भएपछि कोठा दिन नसक्ने उनीहरु बताउँथे । तिमीहरू तल्लो जातको रहेछौ, तिमीहरू बसेपछि मेरो घरमा डेरा गरेर बसेका अरु मानिस पनि निस्किन्छन् । छरछिमेक, समाजले नराम्रो मान्छ । यस्तै यस्तै कारण देखाउँदै कोठा छोडेर जान दबाब दिइन्थ्यो ।

मैले भनेँ, मैले कोठा छाड्ने ठुलो कुरा होइन । तर मेरो परिचय अर्थात् थर कहाँ छोडौँ ? मलाई थर लुकाएर बस्न पटक्कै मन लागेन । घरबेटीको दबाब सहँदै मैले तीन महिनासम्म मास्टर सेमेस्टरको क्लास लिंदै काठ्माडौंका धेरै ठाउँमा कोठा खोज्दै हिडेँ । केही ठाउँमा थरकै कारण कोठा पाउन सकिनँ । मलाई झन् नरमाइलो लाग्यो । देशको राजधानीमा पनि जातका आधारमा कोठा नपाइनुको पीडा अति नै थियो । म हर दिन देशका कुनाकाप्चामा बसिरहेका मेरा समुदायका लाखौँ मानिसको मनोदशा सम्झन्थें । हाम्रा पुर्खाहरुले योभन्दा चर्को विभेद सहेर कसरी जुनी काटे होलान् भन्ने सम्झँदा मलाई एकातिर दुःख लाग्थ्यो भने अर्कातिर उनीहरु नबोलिदिएका कारण विभेद झन् झन् झाङ्गिँदै गएको हो भन्ने सम्झेर आक्रोश पनि बढ्थ्यो ।

यो घटना मेरा लागि निकै पिडादायी र पढाइमा समेत निकै असर परेको थियो तर हार भने कहिल्यै खाइनँ ।

परीक्षाको समय थियो । मुस्किलले पाएको कोठा पनि थर थाहा पाएपछि घरबेटीले छोड्न दबाब दिए । मुख हेरी हेरी तल्लो जात भने । त्यसरी तल्लो जातभन्दा त्यो शब्दले मेरो अपमानमात्र भएन । म र मेरा भाइबहिनीमाथि विभेद भयो । आफूलाई मानव नभएको महसुश भयो । मानसिक तनाव भयो । यसरी परीक्षाकै समयमा थरकै कारण पटक पटक चरम मानसिक यातना भोग्नुपर्‍यो ।

२०७६ साल चैत ४ गते घरबेटीले त्यहि घरमा भाडामा बस्नेलगायत अन्य मानिसको हुल ल्याएर हामी बस्ने कोठामा आए र हामीलाई कोठाबाट निस्कन दबाब दिए । तीन महिनासम्मको चरम जातीय विभेदको पिडा असह्य भएपछि बालाजु प्रहरी कार्यालयमा फागुन २२ गते श्रीकृष्ण बिडारीसहित चारजनाको नाममा जातीय विभेदविरुद्ध उजुरी दर्ता गराएँ । अहिले मेरो मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । यहि चैत्र १२ गते अदालतले मेरो मुद्दाको पेसी तोकेको छ । मैले यो मुद्दामा ममाथि भएको अन्याय र विभेदप्रति न्याय पाउँछु भन्ने विश्वास छ ।

धेरैले भन्ने गर्छन् शहरका, पढेलेखेका शिक्षित मानिसले विभेद गर्दैनन् । जातीय विभेद गाउँघरमा मात्र हुन्छ । चेतना नभएका मान्छेले विभेद गर्छन् । तर शहरमा हामी र हामीजस्ता सयौंले भोग्नुपरेका यस्ता दृष्टान्तहरुले पटकपटक यो कुरा झुटो साबित गरिदिएका छन् ।

केहीले चेतनाको अभावमा विभेद गरिरहेका होलान् तर धेरैले जानीजानी बुझीबुझी पनि विभेद गरेका छन् । मैले भोग्नुपर्दैन भने म किन बोल्ने भन्ने एकातिर छन् भने अर्कातिर वर्षौँदेखि भोग्दै आएको हो, विभेद भोग्न हामी अभिसप्त छौँ भन्ने भावना विभेद सहँदै आएको समुदायभित्र छ ।

मुखले विभेदको विरोध गरेपनि व्यवहारमा आफू त्यसबाट माथि उठ्न नसक्नेहरू कयौँ मानिस मैले पनि देखेको छु । चिनेको छु । आफूलाई शिक्षित भन्नेको घरभित्र सामाजिक हिंसाका डङ्गुर छन् । त्यहाँ मानवता छैन ।

हाम्रो जात थाहा पाएपछि डेराबाट निकाल्ने व्यक्ति अर्थात् हाम्रा घरबेटी गृहमन्त्रालय मातहतकै कर्मचारी हुन् ।

मैले गाउँघरमा नभोगेको जातीय विभेद शहरमा भोग्नपर्यो । म आज सरकारी जागिरे, अझ विभेदको अन्त्य गराउनुपर्ने कर्मचारीले गरेको जातीय विभेदविरुद्ध मुद्दा लडिरहेको छु । उनको व्यवहार भोग्दा मलाई लाग्छ- जो शिक्षित छ । जोसँग चेतना छ । जो शहरमा बस्छ, उसैले विभेद गर्ने तरिका पनि बढी बुझेको हुँदोरहेछ कि कसो ? विभेद नगर्न कुनै किताब पढ्नुपर्दैन । विभेद नगर्न शहर बस्नुपर्दैन । मानवता भए पुग्छ । मानव बनेको मानिसले मात्र अर्को मानिसलाई सम्मान गर्न जानेको हुन्छ । मानव नबन्नुअघि यो देशकै प्रधानमन्त्री बने पनि उसले अर्को मानिसलाई सम्मान गर्न जानेको हुँदैन । त्यसैले विभेद जानेर गरिन्छ । बुझेर गरिन्छ ।

मैले भोगेको यो प्रतिनिधि घटनाले पनि यो कुराको पुष्टि गर्छ ।

हामी सबै नागरिकबीच समानता, आपसी सद्भाव र सह–अस्तित्वको विकास कहिले होला ? हामी बन्धुत्वको भावनाका साथ कहिले अघि बढ्ने ? संसार कहाँ पुगिसक्यो ? हामी कहिले त्यो बाटो पछ्याउने ? किन २१ औं शताब्दीमा पुगिसक्दा पनि कम्तिमा मानिस-मानिसका बीचमा विभेद नगरौँ भन्ने आधारभूत चेतना हामीसँग छैन ? हामी मानिसलाई जातका आधारमा विभेद गर्ने मानिसलाई पशुभन्दा तुच्छ स्तरको व्यवहार गर्ने चिन्तनबाट माथि कहिले उठ्ने ?

परम्परागत कुप्रथाको जरोकिलो हल्लाउने गरी धक्का कहिले दिने ? विभेदको पर्खाल कहिले भत्काउने ? के यो हामी केही मानिसले मात्र, अझ विभेद भोग्दै आएका समुदायका मानिसले मात्र बोलेर पुग्छ त ? अवश्य पुग्दैन । यसका लागि विभेदविरोधी सबै नागरिकको हातेमालो र धक्का जरुरी छ । जानेका बुझेका पढेका मानिसले यो विषयमा अब मुख खोल्नुपर्छ । समयसँग आफैँ ठीकठाक भइहाल्छ नि भनेर औपचारिकता मात्र पूरा गरेर अब पुग्दैन । यो मेरो अनुरोध हो, आग्रह हो ।

सदियौँदेखि मानिसधरि हुन नपाएर विभेद खेप्दै आएको दलित समुदायले मात्र बोलेर यो समस्या समाधान हुँदैन ।
यसका लागि त विवेक भएका सबै नागरिकको साथ र सहयोग हामीलाई आवश्यक छ । एकपटक सोची हेर्नु त यो विभेद दलित समुदायको लागि मात्र होइन, सबै समुदायका लागि सिंगो सभ्यताकै लागि कलंक होइन र ? कोही मानिस जन्मका आधारमा, जातका आधारमा धर्मका आधारमा, लिंगका आधारमा भूगोलका आधारमा वा कुनैपनि आधारमा विभेदमा पर्नु कसरी सभ्य समाजको मानक हुन सक्छ ?

केही गर्छु भनेर घर बाहिर निस्किएको एक दलित समुदायको नागरिकलाई पैसा तिरेर बस्ने कोठाधरि नदिने परिवेशले हामी र हामी बाँचेको परिवेश अनि २१औं शताब्दीलाई गिज्याइरहेको छैन र ? यहाँ लाखौँ दलितहरुले थरकै कारण अपमान र विभेद सहनुपरेको छ । यतिमात्र होइन, ज्यान गुमाउनुपरेको छ । राज्यले बनाएको कानुनको पालना भएको छैन ।

जब कसैले आफ्नो इतिहास, पौरख र संस्कृतिका कारण अपमान महसुश गर्नुपर्छ भने आफ्नो थरप्रति गर्व होइन हिनताबोध गर्नुपर्छ भने घरिघरि आक्रोश र घरिघरि घृणा पनि जाग्दो रहेछ । आफू बाँचेको परिवेश, समाज, मान्यता र व्यवहारप्रति गर्व गर्न सकिँदो रहेनछ । जब आफ्नो विरासत भएको देशमै यस्तो विभेद हुन्छ भने घरिघरि यो देशैप्रति पनि वितृष्णा जाग्ने रहेछ । यदि कुनै मानिसलाई उसको थरका आधारमा सम्मान वा अपमान गरिन्छ भने उसले कसरी त्यो कुरामा गर्व महसुश गरोस् ?

ममाथि भएको विभेद सहेर म चुपचाप अर्को कोठा खोजेर सर्न पनि सक्थेँ । आखिर पैसा पाएपछि कोठा पाइहालिन्छ भन्ने तर्क पनि हुँदो हो । तर मैले यो विभेद सहनु थप अरु विभेदका लागि वातावरण बनाउनु हो र अन्यायकर्तालाई थप हौसला दिनु हो भन्ने ठानेर कानुनको शरणमा जाने निर्णय गरेको हुँ ।

विभेदकै कारण आज विश्वविद्यालयका किताब बोक्ने ब्यागमा एक भारी मिसिल बोक्दै न्यायिक निकाय धाइरहेको छु ।

सहपाठीहरू विश्वविद्यालयमा सेमेस्टरको कोर्स पढिरहेको समयमा म न्यायका लागि अदालतको मिसिल पढ्दैछु ।

विश्वविद्यालय जाने समय म अदालत धाउँदैछु । किनकि मानव भएर जन्मिएको म मर्ने बेला पनि मानव भएर मर्न चाहन्छु ।

मर्नुभन्दा अगाडि एक दिन भएपनि मानव भएर बाच्न चाहन्छु । के मानव बन्न पाउँ भन्ने मेरो रहर गलत छ ? के मानव बन्न पाउँ भन्ने मेरो माग अपराध हो ? के मानिसका रुपमा जन्मिएको म मानिस भएर मर्न नपाउने हो ?

म कक्षामा गएको दिन साथीहरू कक्षा सकेर लोकसेवाको तयारी कक्षा लिन जान्थे । भर्ना त मैले पनि गरेको थिएँ । तर, कहिले अदालत, कहिले वकिलको कार्यालय कहिले कोठा खोज्ने चक्कर त कहिले विभेदबारेको भोगाइ सुनाउने ठाउँ खोज्दै समय बित्यो कसरी पढ्ने लोकसेवा ?

२१ औं शताब्दीमा देशको राजधानी शहरमा मैले भोग्नुपरेको विभेदले गर्दा मभित्र केही गर्ने सोच नै हराएर जान्छ । बाँच्नका लागि फेरिने एक मुठ्ठी सास विभेदकै कारण निसासिन्छ । त्रिभुवन विश्वविद्यालयमा राम्रो नम्बर ल्याउन नसकेपनि म अदालतीय अभ्यास र न्यायको खोजीको विषयमा राम्रो नम्बर ल्याउन प्रयासरत हुनुपरेको छ । मास्टर्स तहमा नियमित कक्षा लिएर पढ्ने मेरो रहर राजधानीको विभेदको डङ्गुरमा मिसिन पुगेको छ ।

साथीहरुले भविष्यका सपनाका योजना सुनाउँदै गर्दा म भने वर्तमानमा भोग्नुपरेको विभेदले प्रताडित छु । म भाडा तिरेर पनि बस्ने कोठा नपाएकोमा कानुनी लडाइँ लडिरहेको छु । मानिस नै बन्न नसकरिहेको बेला म कसरी बनाउँ र सुनाउँ साथीलाई भविष्यमा के बन्ने भन्ने योजना ।

विकासको गतिमा विश्व बेतोडसँग दौडिरहेका बेला मजस्ता लाखौँ दलितहरू, फगत एक मानिस बन्न पाउँ भन्ने निवेदन बोकेर हारगुहार गरिरहेका छौँ । यो समाजसँग यो संरचनासँग, यो राज्यसँग । थाहा छैन, यो मागको सुनुवाई कहिले हुन्छ ? राज्यले मलाई तँ मानव होइनस् त नभन्ला नि है !

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com