कम्युनिस्टको शब्दकोशबाट नैतिकता हरायो : नेता सिंह [भिडिओसहित]
![कम्युनिस्टको शब्दकोशबाट नैतिकता हरायो : नेता सिंह [भिडिओसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/PrakashmanSing_MakaluKhabar.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमाले र माओवादी केन्द्रको शब्दकोशबाट नैतिकता भन्ने शब्द हराएको बताएका छन् । जनतासँग गरेका बाचा पूरा गर्न नसकेका कम्युनिस्ट नेतामा नैतिकता हराएको उनको तर्क छ ।
आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले नैतिकता देखाएर राजनीतिप्रतिको विश्वास बढाउँछन् कि भन्ने सोचेको भएपनि अझै आदर्शका कुरा गरेर सत्तामा टाँसी रहेको आरोप लगाए । एउटाले संसद् विघटन गरेर र अर्काे असंवैधानिक काम गर्ने सरकारलाई समर्थन दिएर बसेको उनको भनाई थियो । देशको राजनीतिक अस्थिरतामा कारण दुबै पक्ष उत्तिकै जिम्मेवार रहेको उनको जिकिर छ ।
कांग्रेस एक्लैको प्रयासले नैतिकताहिन सरकारको विकल्प दिन नसक्ने उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न माओवादी केन्द्र र जनता समाजवादी पार्टीले तत्परता नदेखाएको नेता सिंहको आरोप छ । ‘यी दुई दलले स्पष्ट निर्णय दिनुपर्छ,’ उनले भने, ‘कांग्रेस जस्तो सुकै जिम्मेवारी लिएर परिस्थिती सम्हाल्न तयार छ ।’
नेता सिंहले विश्वकर्मा समाजका राष्ट्रिय अध्यक्ष गोपाल प्रसाद विश्वकर्मालगायत समाजका डेढदर्जन अगुवाहरुलाई पार्टी प्रवेश गराएका छन् । सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश स्नेही, संविधान सभा सदस्य दिपक कुईकेल र कांग्रेस काठमाडौंमा सभापति सबुज बानियाँलगायतको सभागिता रहेको थियो ।








