सरकारको नेतृत्व लिने वातावरण बनिसकेको छैन : शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनिनसकेको बताएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीसँग प्रवक्ता शर्माले अहिलेकै अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको बताएका हुन् ।

यद्यपि, परिस्थिति बनेको अवस्थामा सरकारको नेतृत्व गर्ने परिस्थितिबाट नभाग्ने मनस्थितीमा सभापति शेरबहादुर देउवा रहेको प्रवक्ता शर्माले बताए ।

आफुसँग भएका सांसदको संख्या र अन्य दलभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आईनसकेकाले कांग्रेसले धारणा तय नगरेको शर्माको भनाइ छ । सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टीले यसबारेमा आधिकारिक निर्णय गर्ने उनले बताए ।

एमाले, माओवादी केन्द्र, जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दे कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गर्दै प्रवक्ता शर्माले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि बताए ।

प्रतिक्रिया