एमालेलाई एक बनाएरै छाडिन्छ : लालबाबु

काठमाडौं । एमालेभित्र माधवकुमार नेपाल निकट भनेर चिनिएपनि केही समयदेखि तटस्थ रहँदै आएका नेता लालबाबु पण्डित पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको संसदीय दलको बैठकमा सहभागी भए । बिहीबार बिहान ११ बजे आह्वान गरिएको बैठकमा सहभागी भएका नेता पण्डितले एमालेलाई एक बनाएरै छाड्ने दाबी गरेका छन् । मकालु खबरसँगको कुराकानीमा नेता पण्डितले यस्तो दाबी गरेका हुन् । ‘म गुटको नेता होइन,’ नेता पण्डितले भने, ‘म पार्टीको नेता हुँ । त्यसकारण म सधैं एकताको पक्षमा छु । एमालेलाई एक बनाएरै छोड्छु ।’

आफ्नो सार जनताको बहुदलीय जनवाद र सूर्य चिह्न भएको पनि नेता पण्डितले बताए । ‘पहिले पनि म पार्टी एकताकै पक्षमा थिएँ,’उनले भने, ‘अब नेकपा त औपचारिक रुपमा फुटिसकेको छ । अब एउटा हुने सम्भावना छैन । तर, एमाले त अझै एक हुनसक्छ, यसको सम्भावना त प्रशस्तै छ नि ।’

एमालेभित्रै पनि केही असन्तुष्ट पक्षहरु रहेको र त्यस्ता पक्षहरुलाई समेटेर लाने पण्डितको भनाइ छ । ‘यहाँभित्र पनि केही असन्तुष्ट पक्षहरु छन्,’ पण्डितले भने, ‘तर, अब एमाले एक हुन्छ । एक भएर अगाडि बढ्छ ।’

पण्डित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि तटस्थ रहँदै आएका नेता हुन् । नेपाल–खनाल निकट उनलाई ओली समूहले प्रदेश नं. १ को सह–इन्चार्जको जिम्मेवारीसमेत दिएको छ ।

बैठकमा बामदेव गौतम पत्नी तुलसा थापा पनि पुगेकी थिइन् । थापा गौतम नेतृत्वमा सञ्चालित नेकपा एमाले राष्ट्रिय एकता अभियानमा पनि छिन् । बैठकमा गाैतम भने सहभागि भएनन् ।

प्रतिक्रिया