जसपा कार्यकारिणी समितिको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बैठक बिहान ११ः३० बजे बस्न लागेको जसपा नेता केशव झाले मकालु खबरलाई जानकारी दिए ।

खासगरी देशको समसामयिक राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुने नेता झाले बताए । ‘पार्टीको समायोजन, संसदीय दलको नेतालगायतको विषयमा छलफल हुन्छ,’ नेता झाले भनेका छन्, ‘सँगै वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने हो ।’

मुलुकमा अहिले नयाँ सरकार गठनको कसरत चलिरहेको छ । यसको केन्द्रविन्दुमा जसपा पनि छ । आजको बैठकले नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्नेलगायतका विषयको निष्कर्ष निकाल्ने बुझिएको छ ।

जसपाभित्र केपी शर्मा ओली नेतृत्वका सरकारलाई नै सघाउने कि नयाँ सरकार गठनको प्रयासमा लाग्ने भन्नेबारे मत बाँडिएको छ । आफूहरुको माग जसले पूरा गर्छ त्यसैलाई सहयोग गर्ने पक्षमा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु छन् भने ओलीलाई ‘प्रतिगमनकारी’ भन्दै वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नसकिने पक्षमा उपेन्द्र यादवलगायतका नेताहरु छन् ।

सोही विवाद निरुपणमाथि आजको बैठक केन्द्रित रहने बुझिएको छ । यसअघि पनि पटकपटक जसपाले बैठक आह्वान गरेको छ । तर, बिनानिष्कर्ष सकिएको छ ।

प्रतिक्रिया