प्रभु साहले बुझाए प्रचण्डलाई स्पष्टीकरण

  • धनबल राई

काठमाडौं । माओवादीबाट एमाले बनेका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण बुझाएका छन् । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले मकालु खबरलाई दिएको जानकारीअनुसार साहले मंगलबार अध्यक्षसमक्ष स्पष्टीकरण बुझाएका हुन् ।

स्पष्टीकरणको ब्यहोरा भने खुलाइएको छैन । ‘प्रभु साहले चाहिँ स्पष्टीकरण बुझाउनुभएको छ,’ सचिव ढकालले भने, ‘त्यसबाहेक अरुले चाहिँ बुझाउनुभएको छैन ।’

गत फागुन २९ गते बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एमालेका केन्द्रीय सदस्य बनेका २३ पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार केन्द्रले चैत १ गते २४ घण्टे स्पष्टीकरणसँगै सरकारबाट बाहिरिन निर्देशन दिएको थियो ।

त्यसभन्दा अगाडि फागुन २८ गते प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ जना ति नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

प्रतिक्रिया