नेपाली रुपैयाँसँग डलर ३.५ प्रतिशतले कमजाेर

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय अवस्थिति प्रतिवेदनले डलरसँगको विनिमय दरका आधारमा नेपाली मुद्रा बलियो भएको देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा चालू आर्थिक वर्षको माघ मसान्त (७ महिना) मा नेपाली मुद्रा डलरको विनिमय दरका आधारमा ३.५ प्रतिशतले अधिमूल्यन भएको देखाएको हो । तर, अघिल्लो वर्ष सोही अवधिमा नेपाली मूद्रा ३.९ प्रतिशतले अमेरिकी डलरको तुलनामा अवमूल्यन भएको थियो ।

त्यस्तै, २०७७ माघ मसान्तमा अमेरिकी डलर १ को खरिद विनिमय दर १ सय १६ रुपैयाँ २७ पैसा रहेको थियो । तर, २०७७ असार मसान्तमा उक्त विनिमय दर १ सय २० रुपैयाँ ३७ पैसा रहेको थियो ।

उद्यपी, डलरको तुलनामा नेपाली मूल्द्राको अधिमूल्य वा अवमूल्यनमा नेपाली अर्थतन्त्रको खासै भूमिका भने छैन । भारतीय मुद्रासँग नेपाली मुद्राका स्थिर विनिमयदर (१ : १.६०) रहेकोले भारतीय मुद्रा डलरको तुलनामा बलियो भए मात्रै नेपाली मुद्रामा त्यसको असर देखिने हो ।

प्रतिक्रिया