माओवादी संसदीय दलका नेता पद नै बन्धकी राखेर एमालेमा

विराटनगर । प्रदेश- १ संसदीय दलका नेता टंक आङ्बुहाङ नेकपा एमालेमा प्रवेश गरेसँगै यसको असर अहिले संसदीय दलमा देखिएको छ । नेकपा एमालेले केन्द्रीय समितिमा आङ्बुहाङलाई मनोनित गरेपछि अब प्रदेशमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलको नेता कसलाई बनाउने भनेर छलफल शुरु भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा एकता हुनुभन्दा पहिला एमालेबाट अहिलेका मुख्यमन्त्री शेरधन राई र माओवादी केन्द्रको तर्फबाट टंक आङ्बुहाङ नै संसदीय दलको नेता थिए । जब नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भयो त्यसपछि संसदीय दलको नेतामा शेरधन राईमात्र भए ।

उनै राईको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । प्रदेश सरकार गठन हुँदाको समयमा ईन्द्र आङ्बो र टंक आङ्बुहाङ मन्त्रीमा जाने तय भएको थियो । माओवादी केन्द्रका बिचमा कुरा नमिल्दा ईन्द्र आङ्बो एक्लै सरकारमा गएका थिए । नेकपा एमालेबाट ३ जनासहित माओवादीका १ जना सरकारमा सहभागी भएका थिए । त्यहीँबाट आङ्बुहाङ र आङ्बोको टकराव शुरु भएको उनीनिकटका माओवादी नेताहरु बताउँछन् ।

आङ्बुहाङले पार्टीभित्र आफ्नो सम्मान नभएकाले संसदीय दलको नेता तथा संसद पद नै बाजी लगाएर आफू एमालेमा गएको बताए । माओवादी केन्द्रका नेताहरुले सहमति र सम्झौता पालना नगर्दा पार्टी एकताको विषय अन्यौलमा परेकाले ओलीको नेतृत्वलाई विश्वास गरेको आङ्बुहाङको भनाइ छ । ‘दलहरू एक हुनुपर्छ भन्ने थियो,’ उनले भने, ‘मेरो असतुष्टिको विषय सेकेण्डरी कुरा हो ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद ईन्द्र आङ्बोले दलभित्र कारबाहीको कुरा उठेको बताए । ‘केन्द्रीय कमिटीले टंकजीसहितका नेतालाई स्पष्टीकरण सोधेको छ,’ आङ्बोले भने, ‘दलले कारबाही गरी संसद पद नै खारेजीको प्रक्रिया अघि बढेको छ ।’

आङ्बो भने संसदीय दलको नेतामा आफू बन्ने दाउमा लागेका छन् । पार्टीभित्र छलफल भइरहेकाले केन्द्रमा विषय टुंगो लागेपछि संसदीय दलको बैठक बोलाएर संसदीय दलको नेता कसलाई बनाउने भन्ने तय हुने उनले बताए ।

नेकपाभित्रको विवादका कारण प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । चैत १ गते सूचना जारी गरी प्रदेश सभा सचिवालयले अर्को सूचना प्रकाशित नहुँदासम्म सभाको बैठक स्थगित भएको जनाएको छ । सर्वोच्च अदालतको आदेशपछि माओवादी र एमाले छुट्टिएको, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको सन्दर्भमा प्रदेश सभाको बैठक अनिश्चित भएको हो ।

यही बेलामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता टंक आङबुहाङ पनि एमालेबाट नफर्किएपछि प्रदेश सभाभित्रको अन्यौलता थप बढेको छ ।

प्रतिक्रिया