चितवनको हाकिम चोकमा एनसीसी बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैँक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका- ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो ।

सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका- ९ का प्रतिनिधि किशोर सापकोटा अतिथिका रुपमा उपस्थित रहेका थिए ।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ । क्यू आर कोड हस्तान्तरण गर्दै एनसीसी बैँकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए ।

साथै उनले बैँकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको उल्लेख गरे । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैँकबीचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्नुहुँदै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजि व्यवसायीहरु रहेको र उनीहरू सबैसँग सहकार्य गर्न सकिने धारणा राखे । साथै उनले एनसीसी बैँकका कर्मचारीहरुसँग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साटेका थिए ।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसंग बैँक तथा वित्तीय सेवाबिचको सम्बन्ध तथा उद्यमशीलता प्रवर्द्धनका लागि एनसीसी बैँकको योगदान रहेको चर्चा गरे । यसैगरी वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफू विगत १६–१७ वर्षदेखि बैंकको ग्राहक रहेको र अहिले आफ्नै घर आँगनमा बैँकको शाखा खुलेकोमा खुसी व्यक्त गरे भने बैंकले कृषि क्षेत्र तथा रोजगारी प्रबद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने भएकाले एनसीसी बैँकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैँकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पुर्‍याउने अपेक्षासहित सम्पुर्ण व्यवसायीहरूलाई बैँकमार्फत सेवा लिन अर्यालले अनुरोध गरेका थिए ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरी कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया