सुन्दरहरैचाका युवाले बंगलादेश बैंकबाट ४ प्रतिशत ब्याजमा कर्जा पाउने

काठमाडौं । नेपाल बंगलादेश तथा सुन्दरहरैचा नगरपालिकाबीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको छ ।

कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्ण प्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिस गर्ने र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिस गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ ।

बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिए ।

पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको जनाइएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहनेगरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधी समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिक्रिया