खुलामञ्चमा फेरि डोजर, अस्थायी बसपार्कसमेत हटाउने तयारी

काठमाडौँ । अस्थायी बसपार्कसमेत हटाउनेगरी काठमाडौं महानगरपालिकाले खुलमञ्चलाई खुला गर्ने अभियानलाई  निरन्तरता दिएको छ ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माणकार्य अन्तिम चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको हो ।

केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आइतबार खुलामञ्चमा डोजर चलाएर थप संरचना भत्काएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यहीअनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिए ।

No description available.

‘आज खुलामञ्चमा पुनर्निर्माणका लागि निर्माण सामग्री राख्न निर्माण गरेका संरचना वरिपरीको बार भत्काएका छौँ,’ उनले भने, ‘अब त्यहाँको अस्थायी संरचना पनि छिट्टै भत्काउँछौँ र खुलामञ्चलाई पुरै खुला गर्छौं ।’

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशनअनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जानकारी दिए ।

दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको र वीर अस्पताल पनि निर्माणको अन्तिम चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिए । ज्ञवालीले अस्थायी बसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्टै त्यसलाई समेत खुला गर्ने जानकारी दिए ।

प्रतिक्रिया