एमाले विवाद निर्वाचन आयोगमा : ओलीको निर्णयलाई वैधता नदिन माग

काठमाडौं । एमाले विवाद निर्वाचन आयोग पुगेको छ । आइतबार वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरु अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते गरेको निर्णयलाई वैधता नदिन माग गर्दै आयोग पुगेका हुन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरलाई दिएको जानकारीअनुसार आज नेपाल–खनाल समूहका नेताहरु आयोग पुगेका थिए । ‘पत्र आएको हो,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘म अहिले भर्खर निस्केँ । कार्यालयबाट नेताहरु आउनुभयो भनेर फोन आएको थियो ।’

२८ गते ओलीले २३ जना पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए भने द्वयनेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टलाई प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएका थिए ।

नेपाल–खनाल समूहले सर्वोच्च अदालतले साविकको अवस्थामा फर्काइदिएपछि साविककै सदस्यहरु मात्र पार्टीमा हुनुपर्ने जिकिर गर्दै आएको छ । मकालु खबरसँग समूहका नेता रघुजी पन्तले भनेका छन्, ‘हामीले खाली के मात्रै भनेका हौँ भने सर्वोच्च अदालतले साविककै अवस्थामा फर्काइदिएपछि त नेताहरु पनि साविककै मात्रै हुनुपर्यो नि । तर, ओलीजीले एकलौटी रुपमा निर्णय गर्नुभएको छ । त्यो हामीलाई मान्य छैन ।’

प्रतिक्रिया