ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नेपाल–खनाल पक्ष नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ ।

शनिबार बसेको नेपाल–खनाल पक्षको केन्द्रीय कमिटीको बैठकले ओली पक्षले बोलाएको बैठकमा नजाने सहमति गरेको केन्द्रीय सदस्य तथा सांसद भवानी खापुङ्गले मकालु खबरलाई जानकारी दिए । ‘महाधिवेशनले मात्र हेरफेर गर्न सक्ने पार्टीको विधान आफूखुशी मिचेर केन्द्रीय सदस्य थपिएकाले अवैध केन्द्रीय सदस्य रहने बैठकमा नजाने सहमति भएको छ,’ खापुङ्गले भने ।

शनिबारको बैठकले केन्द्रीय सदस्य थप गर्ने, पद खारेज गर्ने, महाधिवेशनबाट चुनिएका नेताहरुलाई जिम्मेवारीविहीन बनाउनेलगायत एकतर्फी निर्णय नमान्ने निर्णय गरेको र अवैध तवरले थप गरिएका केन्द्रीय सदस्य भएको बैठकमा जाने कुरै नहुने उनले बताए ।

सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई एकतापूर्वको अवस्थामा पुर्याइदिएकाले त्यो बेलाको केन्द्रीय कमिटीको बहमुत सदस्य नभइ बैठक नै बस्न नसक्ने र अल्पमतको कमिटीले गर्ने निर्णय स्वतः अमान्य हुने नेपाल–खनाल पक्षको दाबी छ ।

बैठकले राष्ट्रिय कार्यकर्ता भेलाका लागि पार्टीको इन्चार्ज चयन पनि गरेको छ । बैठकले भेलाका लागि प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज तोक्ने निर्णय गरेको हो ।

यसैगरी, प्रचार विभागमा योगेश भट्टराई, युवा विभागमा रघुजी पन्त, विद्यार्थी विभागमा गोकर्ण विष्ट, बुद्धिजीवी विभागमा प्रमेश हमाललाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

यो जिम्मेवारी कार्यकर्ता भेलासम्मका लागि मात्र भएको पनि नेता खापुङ्गले जानकारी दिए ।

प्रतिक्रिया