सत्ताको चाबी बोकेको जसपा तानातानमा, दलभित्र दुई धार

काठमाडौं । एकै दलको बहुमत नभएपछि सरकार गठनका बेला दलहरुको धपेडी बढ्ने गर्छ । आफ्नो पक्षमा बहुमत पुर्याउन दलहरुलाई विश्वासमा लिन चरण–चरणमा छलफल हुन्छन् । त्यस्तो बेलामा दलहरु तानातानमा पर्छन् । सर्वोच्च अदातलतले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि फेरि सरकार गठनको रस्साकस्सी बढेको छ । र, यसपटक तानातानमा छ जनता समाजवादी पार्टी । किनभने परिस्थितीले सरकारका लागि चाहिने मुख्य चाबी उसको हातमा थमाइदिएको छ यतिबेला ।

कांग्रेस र माओवादी केन्द्र सत्ता सहकार्यका लागि लगभग सहमत भएपनि आफूहरुका सांसदले मात्र बहुमत नपुग्ने भएपछि सत्ताको चाबी बोकेको जसपा तानातानमा परेको हो । अर्कातिर सरकार टिकाइ राख्न प्रधानमन्त्री केपी ओलीका लागि पनि जसपाको समर्थन आवश्यक छ ।

माओवादी केन्द्र र कांग्रेससँग भन्दा जसपासँगको सहकार्य एमालेका लागि सजिलो भएकैले प्रधानमन्त्री ओली जसपाका नेताहरुसँग सघन वार्तामा बसिरहेका छन् । जसपाका माग पूरा गराउन पनि सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका ४ जना नेताहरुबीच बिहीबार साँझ बालुवाटारमा भेटवार्ता भयो । भेटमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने अनुपस्थित थिए ।

भट्टराई बालुवाटार नपुग्नुलाई ‘सत्ता सहकार्य अरुची’को रुपमा बुझिएको छ । यसलाई भट्टराईले गरेका बिहीबारको ट्वीट्ले पनि थप पुष्टि गर्छ । भट्टराईले लेखेका थिए–‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है । अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त । जसपा त्यो मुसादौडमा छैन है ।’ भट्टराई ओलीको कट्टर आलोचक हुन् । भट्टराईले ओलीलाई दर्जनौं पटक भष्मासुरदेखि कलकंको संज्ञा दिइसकेका छन् । उनी ओलीलाई सत्ताबाट नहटाउने हो भने धेरै क्षति ब्यहोर्नुपर्ने दाबी गर्छन् । भट्टराईले केही दिन पहिले मात्रै ‘ओली हटाउँ, देश बचाउँ’ भन्दै ट्वीट् गरेका थिए ।

बालुवाटारमा पुगेको जसपाको टोलीले पार्टीको ‘बटमलाइन’ भन्दै मुख्यतः तीन शर्त अगाडि सार्यो । जेलमा रहेका नेता रेशम चौधरीसहित नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन । यी शर्त पूरा भए सत्ता सहकार्यका बारेमा सोच्न सकिने जसपाका नेताहरुले बताएका छन् ।

उनीहरुले आफ्नो शर्तप्रति प्रधानमन्त्री सकारात्मक रहेको जसपाका नेताहरुले बताएका छन् भने सरकारी पक्षले पनि वार्ता सकारात्मक भएको र थप छलफल गरिने बताएको छ । ‘वार्ता सकारात्मक भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरसँग भने, ‘अब कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।’

जसपामा दुई धार
साविकको संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपा भित्र यसैपनि यी दुई दलको व्यवहारिक मेलन बाँकी नै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी पार्टीलाई फुटाउने लक्ष्यका साथ दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि यी दुई दल एक हुन बाध्य भएका थिए ।

उसो त अहिलेको परिवेशमा जसपाको एकधार अर्थात् एक हुनु अघिको राजपा पक्षले ओलीलाई नै समर्थन गर्ने सम्भावना रहेको र यसका लागि दल विभाजन पनि हुनसक्ने सम्मका आकलनहरु गर्न थालिएको छ । तर, अहिलेसम्म पूर्वराजपा पक्षका नेताहरु यो आकलन यथार्थमा बदलिने सम्भावना बलियो भइनसकेको बताउँछन् । ‘भोलि के हुन्छ भन्न त सकिँदैन । तर, अहिले नै यस्तो पनि हुन सक्छ भन्ने आलोकाँचो कुरा हो’ मकालु खबरसँग उनले भने ‘सत्तापक्षले पनि यस्तो हल्ला चलाएको हामीले पाएका छौँ ।’

अहिले सरकार गठनको रस्साकस्सी चल्दै गर्दा जसपाभित्र पनि ओली नेतृत्वको सरकारमा जाने कि कांग्रेस र माओवादीसँग सत्ता साझेदारी गर्ने भन्ने विषयमा दुई धार देखिन्छ । जसपा निकट समाचार श्रोतहरुका अनुसार भट्टराई र उपेन्द्र यादव पक्ष माओवादी र कांग्रेससहितको समीकरणप्रति नजिक देखिन्छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँगको सहकार्यका लागि नजिक छन् । तर, अहिल्यै केही भनिहाल्न सकिने अवस्था भने नभएको श्रोत बताउँछ ।

आफ्ना मागहरु पूरा गर्न दुवै पक्ष सहमत भएमा बढी फाइदा कोसँग मिल्दा हुन्छ अर्थात् सरकारमा बढी र शक्तिशाली मन्त्रालय दिन कुन पक्ष तयार हुन्छ उसैसँग साझेदारी गर्ने मनसायमा जसपा रहेको छ ।

प्रतिक्रिया