मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘झगडिया’ कम्युनिष्टहरु !

  • धनबल राई

जे रोपियो त्यही फल्नु प्राकृतिक नियम हो । हिजो आरुबखडा रोपेर आज सुन्तला फल्दैन । आज आरुबखडा फल्नलाई हिजो पनि आरुबखडा नै रोपिएको हुनुपर्छ । प्रकृतिको विरुद्धमा कोही पनि जान सक्दैन, यदि गइहाले उसलाई सधैं ‘पराजय’ नै मिल्छ ।

                                                                                 000

बुधबार सुदूरपश्चिममा एमालेका दुई पक्षका नेता-कार्यकर्ताबीच झडप भयो । दुई नेताका मान्छेबीच भएको कुटाकुट र एकले अर्कोलाई खुइल्याउन अपनाएको हत्कन्डाले पनि उल्लिखित सन्दर्भलाई अझ प्रकाश पार्छ । यसलाई आसन्न घटनाको पूर्वाभ्यासको रुपमा बुझ्न सकिन्छ । समय र परिस्थितिअनुसार यो खाले झडप हुनुलाई सामान्य रुपमा लिउँला । तर, यस्तो अवस्था आउनुमा नेताहरुको ‘स्कूलिङ्ग’ भने आलोचनायोग्य छ । किनकी- हिजो जे रोपिएको थियो, आज त्यहि फल्यो ।

                                                                                 000

सत्ता प्राप्तिका लागि सिद्धान्त छोड्ने, राजनीतिक मोलमोलाई र लेनदेन गर्ने कुनै पनि राजनीतिक दलका नेता-कार्यकर्ता सिद्धान्त र विचारधाराको लागि होइन, पार्टी कार्यालय, मेच-टेबुल, माइक, ब्यानर, झण्डा अनि नामका लागि महाझगडिया बन्न तयार हुन्छन् । र, यी महाझगडियाहरु तिनै हुन्जो- जनताका लागि खास हुँदैनन् ।

सैद्धान्तिक र वैचारिक बाटोलाई ‘राजनीतिक लेनदेन’मा बदल्ने र त्यसैमा भुल्ने नेता-कार्यकर्ताबाट के अपेक्षा राख्न सकिन्छ र ? सत्ता प्राप्तिका लागि सिद्धान्त छोड्ने, राजनीतिक मोलमोलाई र लेनदेन गर्ने कुनै पनि राजनीतिक दलका नेता-कार्यकर्ता सिद्धान्त र विचारधाराको लागि होइन, पार्टी कार्यालय, मेच-टेबुल, माइक, ब्यानर, झण्डा अनि नामका लागि महाझगडिया बन्न तयार हुन्छन् । र, यी महाझगडियाहरु तिनै हुन् जाे- जनताका लागि खास हुँदैनन् । देश डुबाउन, जनतालाई दुःख दिन मात्र उनीहरुको उपयोग हुन्छ ।

कसैको विरोध गर्दै गर्दा कुन स्तरसम्म गिर्ने वा केकस्ता तर्कहरु गर्ने भन्ने सामान्य हेक्का पनि नराखेपछि मानिस मानिस रहँदैन । उसमा कुनै विवेक छ यदि भनेपनि त्यसको के नै काम भयो र ?

                                                                                 000

देशको बागडोर सम्हाल्न तयार हुनुपर्ने राजनीतिक दलले सत्ता प्राप्ति र शक्ति आर्जनका लागि आफ्ना कार्यकर्ताहरुका पाखुरा र तिघ्रा मात्रै बलियो बनाए । पार्टीलाई नभइ नेतालाई कति चन्दा मिल्छ भन्ने आधारमा पार्टी सदस्यता दिलायो । अन्ततः न नेता वैचारिक बने, न मुलुक समृद्ध बन्यो । बन्यो त केबल- नेताका महल अनि कार्यकर्ताका मसल । तर, जनताको हविगत भने सधैं उही भइरह्यो । पार्टीभित्र अध्ययन केन्द्रहरु र अध्ययन रुचाउने व्यक्तिहरु सुक्दै गए र फुक्दै गए बिचौलिया, ठेकेदार र कमाउ कार्यकर्ताहरु । अनि त भन्न थालियो कम्युनिष्ट कि कमाउनिष्ट ?

                                                                                 000

पार्टीको नामाकरण र दस्तावेजीकरणमा कहिल्यै छुटेनन्- मार्क्सवाद, लेनिनवाद । तर, कहिल्यै अटाएन- यसको व्यवहारिक सन्देश । यी ‘वाद’लाई खाली कर्मकाण्डी मात्रै बनाइयो । भित्तामा झुन्ड्याइयो, यस्सो हेरेर मुठ्ठि कसियो– मुठ्ठि खुलेसँगै तिनलाई बिर्सिइयो र उही नियमित धन्दामा लागियो ।

                                                                                 000

जान्न मन छ- हिजो विदेशमा मार्क्सवादी-लेनिनवादी प्रशिक्षण लिएर-दिएर फर्किएका जानकारहरुले वर्तमान नेपाली कम्युनिष्टका कर्मकाण्डलाई कसरी बुझिरहेका होलान् ? के मार्क्वाद र लेनिनवादभित्र ‘झगडा’ मारामार, छुद्र गालिगलौच मात्र अटाउँछ ? नवउदारवादी अर्थतन्त्रको प्रतिरोधको कुरा कहाँ पुग्यो ? वर्गसङ्घर्ष र साम्राज्यवादको प्रतिरोधको कुरा कहाँ छ ? कम्युनिष्टको झगडाले जनतालाई के सिकाउँछ वा उनीहरु यसमार्फत के सन्देश दिन चाहिरेका छन् ? प्रश्नहरु यत्रतत्र छन् । तर, उनीहरु पनि चुइँक्क बोल्दैनन् । शायद मतलब पनि छैन होला । जे जाओस् सन्देश, जे सोचुन नागरिकले…

कमरेडहरुले बझ्नैपर्ने कुरा हो कि- रातो पहिरिँदैमा क्रान्तिकारी होइँदैन । अन्तर्राष्ट्रिय गीत गाउँदैमा समानता मिल्दैन । मुट्ठी कसेर लालसलाम ठोक्दैमा क्रान्ति हुँदैन । मुख्य कुरा भनेको सिद्धान्त-विचार र त्यसको कार्यान्वयन हो । तर, कमरेड त्यो पनि बुझ्दैन ।

कमरेडहरुले बझ्नैपर्ने कुरा हो कि- रातो पहिरिँदैमा क्रान्तिकारी होइँदैन । अन्तर्राष्ट्रिय गीत गाउँदैमा समानता मिल्दैन । मुट्ठी कसेर लालसलाम ठोक्दैमा क्रान्ति हुँदैन । मुख्य कुरा भनेको सिद्धान्त-विचार र त्यसको कार्यान्वयन हो । तर, कमरेड त्यो पनि बुझ्दैन । अनि वैचारिक संघर्ष, जनसेवा, बाह्य शक्तिको प्रतिरोधको त के कुरा ? आम जनताको जीवनमा समानताको न्यानो घाम लाग्यो कि लागेन त ? अर्थ त यसमा पो छ होइन र कामरेड ?

                                                                                 000

कार्यालय, ब्यानर, नाम, मेच-टेबुल, माइक यी यावत् भौतिक कुराहरुको कब्जामा रमाएका नेता-कार्यकर्तासँग केही अपेक्षा हुन्छ र ? मार्क्सवाद- लेनिनवाद वा माओवादको नेपाली परिस्थितिअनुकूल कार्यान्वयन, साम्राज्यवाद र विस्तारवादी शक्तिको प्रतिरोध, समाजवादउन्मुख बन्दोबस्तको विषयमा किन केही बहस भएन ? अनि नेपाली कम्युनिष्टहरुमा किन भौतिक वस्तु नै झगडाको कारक बनिरहेको ? यी प्रतिनिधि प्रश्नहरु हुन् । यस्ता धेरै प्रश्नहरु छ जनतासँग ती झगडिया कम्युनिष्टहरुलाई सोध्नको लागि ।

                                                                                 000

अहिलेलाई कम्युनिष्टहरुकै शब्द सापटी लिएर यति भनौँ- ‘कमरेड ! सिद्धान्त त जीवनको लागि हो ।’

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com