एमालेमा पूर्वमाओवादी नेताहरू : कति अवसर, कति चुनौती ?

काठमाडौं । पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भई नेकपा बनेर पुनः एमाले र माओवादीकै अवस्थामा आइपुग्दासम्म नेपाली राजनीतिमा धेरै उथलपुथल देखियो/देखिँदैछ । पछिल्लोपटक फागुन २३ गते सर्वोच्च अदालतले, खारेज भइओरी अर्कैका नाममा दर्ता रहेको एमाले र माओवादी केन्द्र ब्यूँतने फैसला सुनाएपछि राजनीति अर्को कोर्समा प्रवेश गरेको हो ।
नेकपाभित्र अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’को निकट रहेका पूर्वएमाले नेताहरूले एमालेमै फर्कने निर्णय गरिसकेका छन् तर पूर्वमाओवादी नेताहरू भने अझै प्रचण्डसँग फर्किन मानिरहेका छैनन् । अझ भनौं, यो सम्भावना क्षीण बन्दै गएको छ ।
नेकपा बनेपछि धेरै नेताहरू आ-आफ्नो राजनीतिक लाभहानीको आधारमा साविकको आफ्नो दल वा नेतालाई छाडेर अर्को पक्ष र नेतासँग नजिक भए । केपी शर्मा ओली र प्रचण्डको नेतृत्वमा नयाँ खेमाहरू बने । दुई पक्षबीच खटपट सुरु हुँदैदेखि ओलीको पक्षमा देखिएका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझीदेखि पछिल्लो समय ओलीको पक्षमा खुलेका प्रभु साह, दावा लामा, मणी थापालगायत बरु सांसद पद त्याग्ने तर प्रचण्डसँग नफर्कने मूडमा देखिएका छन् ।
प्रचण्ड–नेपाल पक्षसँग को बलियो भन्ने देखाउने क्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी नेताहरुलाई प्राथमिकताका साथ मन्त्री पद दिएसँगै फुरुङ्ग भएका उनीहरु मन्त्री पद जाँदैन भने किन माओवादी फर्कने भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।
उनीहरू अहिले पनि प्रचण्डभन्दा ओली नै इमान्दार भएको अभिव्यक्ति दिँदै आफू एमाले भइसकेको बताउन थालेका छन् । उनीहरू यो अडानमा कायमै रहे उनीहरुको सांसद पद गुम्नसक्छ । तर उनीहरु बरु सांसद पद त्याग्ने तर माओवादी केन्द्रमा नफर्किने बताउन थालेका छन् ।
भलै ‘बादल’ र भट्टले भने अझै औपचारिक रुपमा मुख खोलेका छैनन् । यसैपनि कम बोल्ने नेता बादलले प्रचण्डसँग दोस्रोपटक ‘पारपाचुके’ गर्ने लगभग तयजस्तै देखिन्छ । यसअघि माओवादी विभाजनका बेला पनि उनले मोहन वैद्यलाई साथ दिएर प्रचण्डलाई जिल्याएका थिए ।
हुन त प्रचण्ड–बादल सशस्त्र विद्रोहकालका अति निकटतम सारथी हुन् । विद्रोह शुरु भएको केही समयसँगै भूमिगत जीवन व्यतित गरेका प्रचण्ड–बादलको सम्बन्धमा पछि खटपट सुरु भएको हो । कारण थियो, बादलमा ‘लिन प्याओ’ प्रवृत्ति हाबी भएको ठहर गर्दै उनी पार्टीको अनुशासन कारबाहीमा परे । त्यसयता प्रचण्डसँग खासै राम्रो सम्बन्ध नबनाएका बादल अहिले ओलीसँग नजिक छन् । प्रचण्डले अन्तिम समयमा भएपनि आफैँतिर आउने विश्वास गरेका थापा र नेता लेखराज भट्ट दुवैले प्रचण्डलाई निराश बनाउने देखिएको उनीहरू निकट नेताहरु बताउँछन् ।
एमालेमा राम्रै पद पाउने आशा
एमाले अध्यक्ष केपी शर्मा ओलीले बादललाई एमाले उपाध्यक्ष बनाउने चर्चा शुरु भएको छ । केहीले त सामाजिक सञ्जालमा बधाई नै पनि दिइसकेका छन् । एमालेका नेता विष्णु पौडेल पनि थापाको उचित व्यवस्थापन गर्न नेतृत्व तयार रहेको बताएका छन् । मकालु खबरसँग उनले भने, ‘उहाँहरूले संकट परेका बेला नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने निर्णय गर्नुभयो, सांसद पदसमेत त्याग गर्न तयार भएका राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा जहाँका भएपनि सांसदहरुलाई हामी उचित र सम्मानजनक स्थान दिन्छौँ ।’
पौडेलले थापासँगै अन्य पूर्वमाओवादी नेताहरुले पनि पार्टीको कुनै न कुनै महत्वपूर्ण पद पाउने संकेत दिए । अहिलेको राजनीतिक स्थिति हेर्दा पनि ओलीले बादललाई उपाध्यक्ष बनाउने विषयमा कञ्जुस्याइँ नगर्ने अनुमान गर्न सकिन्छ ।
उनीहरुलाई एमालेमा समाहित गर्न पाउँदा एकातिर एमाले बलियो हुनेछ भने अर्कातिर माओवादी कमजोर बन्नेछ । यो दोहोरो फाइदाको विषयलाई बुझ्न ओली जस्ता चतुर नेतालाई कुनै गाह्रो छैन । फेरि एमालेभित्र माधव नेपाल पक्षसँग लड्नका लागि पनि उनी आफूलाई अझ बलियो बन्नुपर्नेछ ।
बादललाई साथ लिँदा केन्द्रदेखि जिल्लासम्म पूर्वमाओवादीलाई कमजोर बनाउन सकिने र महाधिवेशनमा आफ्नो समूहलाई फाइदा पुग्ने ओलीको आकलन छ । त्यसकारण ओलीले बादललाई एमाले उपाध्यक्षको पद दिने कुरा असम्भव नभएको एमालेकै नेताहरुले बताएका हुन् ।
यसपटकका लागि कुनैपनि पदमा नेताहरुलाई समायाेजन गरिएपनि एमालेकाे आसन्न महाधिवेशनबाट चुनाब जितेर आउन बादललगायतका नेतालाई निकै कठिन हुनेछ ।
एमालेमा पूर्व माओवादी नेताहरुको अप्ठ्यारो
पूर्ववत अवस्थामा फर्किसकेको अवस्थामा पनि एमालेमै रहने निर्णय पूर्व माओवादी नेताहरुलाई सहज कुरा भने पक्कै होइन ।
एमाले यथास्थितीवादी भएको भनेर सशस्त्र युद्ध शुरु गरेका नेताहरुले त्यो दलसँग पार्टी नै एकता गराउँदा पनि यो कुराको पुष्टि गर्न सकेका थिएनन् भने अब माओवादी केन्द्र ब्युँतिसकेको अवस्थामा एमालेमा आफूलाई समाहित गर्ने कुरा चुनौतीपूर्ण हो ।
त्यसमापनि सांसद पद नै छोड्नसमेत तयार भएर पार्टी फेर्नुको जोखिम पक्कै हुनेछ ।
सिंगो पार्टी नै मिल्दा पनि पूर्वएमालेहरुबाट विभेद सहनुपरेका उनीहरुले एमालेभित्र त्यति सहज अवस्था भने पक्कै हुने छैन । त्यसमा पनि उनीहरु एमालेभित्रै माधव नेपाल पक्षको निशानामा हुनेछन् नै । पार्टी एकतै हुँदा पनि केन्द्रदेखि गाउँसम्म नै कित्ताकाट जस्तो अवस्था रहेको थियो भने केही नेतामात्र मिल्दा उनीहरुप्रतिको ब्यवहार पक्कै उनीहरुले सोचेजस्तो हुने छैन ।
त्यो बेला उनीहरुलाई आफैंले बनाएको माओवादीको न्यास्रो लाग्ने दिन पनि नआउला भन्न सकिँदैन । ओलीले पछिल्लो मन्त्रिपरिषद्मा थापा, भट्ट र रायमाझीबाहेकै पूर्वमाओवादी नेताहरु, मणिचन्द्र थापा, दावा लामा, प्रभु साह र गौरीशंकर चौधरीलाई समावेश गरेर उनले आफ्नो पक्षमा आएकाहरुलाई राम्रै स्पेस दिने संकेत देखाइसकेका छन् ।
तर, बलियो संगठन बनिसकेको दलमा नेताका रुपमा मात्र समायोजन हुन जाँदा थापालगायतका नेताले पार्टीभित्र आफ्नो स्पेश खोज्न भने निकै नै मेहनत गर्नुपर्नेछ । अहिले कुनै पदमा समायाेजन भएपनि नयाँ अधिबेशनपछि त्यसलाई कायमै राखिराख्न निकै कठीन पर्ने छ । किनकी सरकार त अस्थायी अवसर मात्र न हो ।
प्रचण्डलाई घाटा
सर्वोच्च अदालतले नाम ऋषी कट्टेललाई दिएन मात्र पूर्वएमाले र पूर्वमाओवादीका रुपमा दल ब्युँताइ नै दियो पनि । यसबाट जति क्षति प्रचण्डले व्यहोर्नुपर्यो, त्यसमा थप क्षति आफूपक्षीय नेताहरू एमालेतर्फ जानुले भएको छ । एमालेका कोही पनि नेतालाई आफ्नो पक्षमा ल्याउन नसक्नु तर आफूपक्षीय झण्डै एक दर्जन नेता एमालेमा जाने तयारीमा रहनुले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई अवश्यमेव निकै ठूलो राजनीतिक क्षति पुर्याउने निश्चितजस्तै छ ।








