आफ्नै साथीहरु छुट्दा कमजोर भइयो : प्रचण्ड [भिडिओसहित]
![आफ्नै साथीहरु छुट्दा कमजोर भइयो : प्रचण्ड [भिडिओसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/12/IMG_2242.jpg)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एकचोटी लडाइँ लड्ने बताएका छन् । बिहीबार नयाँ नमूना स्वास्थ्य स्वास्थ्यकर्मी संघ, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
माओत्सेतुङले ७२ वर्षको उमेरमा सांस्कृतिक क्रान्ति गरेको दृष्टान्त सुनाउँदै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘जनयुद्ध शुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन् । तर, म छाड्नेवाला चाहिँ छैन । माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । म एक पटक फेरि क्रान्तिमा अगाडि जानेवाला छु । म छोड्नेवाला छैन । म लड्नेवाला छु ।’
यस्तै अध्यक्ष प्रचण्डले आफ्नै साथीहरु छुट्दा कमजोर भएको स्वीकारेका छन् । ‘आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा चाहिँ हामी अलिक कमजोर भएकोजस्तो देखिएको पक्कै पनि हो,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘तर, हामी फेरि त्यति नै कमजोर पनि छैनौँ । अहिले फेरि हामी आफ्नो धरातलसँग जोडिने बेला आएको छ ।’
यस्तै अध्यक्ष प्रचण्डले देशव्यापी अभियान चलाउने विषयतिर सोचिरहेको बताएका छन् । ‘अब काठमाडौंभन्दा अभियानमा बढी बस्ने विचार छ,’ अध्यक्ष प्रचण्डले भनेका छन्, ‘फेरि २/४ वर्ष जनताको बीचमा गएर बस्ने विचारमा छु । किनकी, भित्री तथा बाह्य प्रतिक्रियावादी तत्वहरुले हामीमाथि धावा बोलिरहेका छन् । अब हामीले आफ्नै धरातलमा टेकेर तिनीहरुलाई परास्त गर्नुपर्छ । आफ्नै शक्तिमा भर परेर मात्रै परास्त गर्न सकिन्छ ।’
गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएर नेकपा साविककै अवस्थामा पुगेको बताएपछि प्रचण्डसँग लागेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि बाध्य भई प्रचण्डको साथ छाडेका छन् ।
गत पुसमा नेकपा विभाजन हुँदा धेरै पूर्वमाओवादी नेताहरु ओलीको कित्तामा उभिएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँगै टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापा, दावा लामालगायतका नेताहरु ओलीको कित्तामा उभिएका छन् ।








