सुनको आपूर्तिको कोटा बढाउने निर्णय छिट्टै हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक वनेको छ । बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धिगर्न सरकार तयार भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताए । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको जनाउँदै केही दिन भित्रै यस बिषयमा निर्णय हुने बताए ।

माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा ब्यवसायीहरुसँग चासो राखेका थिए । त्यसक्रममा सभाषद् एवं महासंघका सल्लाहकार छविलाल बिश्वकर्माले ब्यवसायीलाई परेको अप्ठ्याराका बिषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।

त्यसक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता उनले औंल्याए । आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको उनले स्मरण गराए ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

यसैवीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने बिषयलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।

प्रतिक्रिया