उद्योगीको संस्थामा नेतृत्वको रस्साकस्सी

विराटनगर । व्यापारीहरुको पुरानो संस्था उद्योग संगठन मोरङमा चुनावी सरगर्मी शुरु भएको छ । नजिकिँदै गरेको साधारण सभासँगैको नयाँ नेतृत्वको विषयले उद्योगी क्षेत्रमा अहिले अंकगणित शुरु भएको हो ।

२०२४ सालमा स्थापना भएको उद्योग संगठन मोरङको नयाँ नेतृत्वको लागि अहिलेसम्म निर्वाचन भएको इतिहास छैन । तर यस वर्षदेखि भने पदाधिकारीहरू नै निर्वाचन हुनुपर्ने बताउन थालेका छन् । अहिलेसम्म सर्वसम्मतिबाट नेतृत्व चुँनिदै आएको अवस्थामा अब निर्वाचनबाट योग्य नेतृत्व छानिनुपर्ने पूर्वअध्यक्ष सुशिल धनावत बताउँछन् । ‘टिके प्रचलन लामो समय चल्यो, टिका लगाएर गएको नेतृत्वले काम गर्न नसकेको हो की जस्तो देखिएको छ,’ पूर्वअध्यक्ष धनावतले भने, ‘अबको नेतृत्व आउँदा योग्य र नयाँ काम गर्न सक्ने खालको आउनुपर्छ ।’

नेतृत्वका यी उम्मेदवार
संगठनको ४८ औँ वार्षिक साधारण सभा फागुन २८ गतेका लागि तय भएको छ । साधारण सभापछि २९ गते नै नयाँ नेतृत्वको लागि चुनावी कार्यतालिका सार्वजनिक गरिने भएको छ । संगठनको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्षले दोहोर्‍याउने वा उनले छाडेर अहिलेका वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा ल्याउने भन्ने यकीन भइसकेको छैन । उद्योग संगठन मोरङको नयाँ नेतृत्वका लागि बहालवाला अध्यक्ष भीम घिमिरेले दोहोर्‍याउने मनसाय व्यक्त गरेका छन् भने वरिष्ठ उपाध्यक्ष सुवेश प्याकुरेलले अबको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी राख्दै आएका छन् । पूर्वअध्यक्ष सुशील धनावतले पनि अध्यक्षको रुपमा आफूलाई प्रस्तुत गर्न सक्ने देखिन्छ ।

पूर्वअध्यक्ष धनावत नयाँ नेतृत्वका लागि निर्वाचनमै जानुपर्ने अडानमा छन् । बहालवाला अध्यक्ष भीम घिमिरे आफूलाई अध्यक्षको लागि दोहोर्‍याउन दबाब आएको बताउँछन् ।

‘बहुसंख्यक सदस्यहरु आफुलाई दोहोर्‍युउनुपर्‍यो भन्नेमा हुनुहुन्छ,’ उनले भने, ‘अवस्था हेरेर सहमतिमा जानुपर्छ भन्ने मेरो धारणा हो ।’ अहिलेका उपाध्यक्ष प्रदीप मुरारका पनि अध्यक्षमा आफ्नो दाबी रहेको सुनाउँछन् । उनले पूर्व अध्यक्षहरुले अहिलेसम्म सहमतिका आधारमा नेतृत्व छानेकाले सहमतिबाट जे हुन्छ त्यसैलाई मानेर जान आफू तयार रहेको बताए ।

‘अध्यक्ष पदका लागि आकांक्षीहरु धेरै भएकोले पूर्वअध्यक्षहरु मिलाउन लाग्नुभएको छ,’ मुरारकाले भने, ‘हामी सहमतिको पक्षमा छौँ, तर सहमति हुन सकेन भने पूर्वअध्यक्षज्यूहरुले जे निर्णय गर्नुहुन्छ त्यसैका आधारमा अघि बढ्ने हो । सहमतिबाट उद्योग संगठन धेरै वर्ष चलेकाले अब निर्वाचनमा जानुपर्ने धारणा पूर्वअध्यक्षहरुमा पनि देखिन्छ ।’

‘कार्यसमितिमा आउने चाहना धेरैको देखिन्छ,’ पूर्वअध्यक्ष धनावत भन्छन्, ‘अहिलेको परिवेशमा चुनावको चाहना देखिन्छ ।’

सहमतिको आधारमा सहजै अध्यक्षको जिम्मेवारी प्राप्त गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष सुवेश प्याकुरेल पहिलाको सहमतिको संस्कार बिगार्न नहुने बताउँछन् । ‘धेरै आकांक्षी भएको ठाउँमा नेतृत्व लिन चाहने व्यक्तिहरू धेरै हुनसक्नुहुन्छ,’ प्याकुरेलले भने, ‘इतिहासमा नै निर्वाचन नभएकाले संस्थामा अहिले आएर निर्वाचनमा जानुपर्छ भन्नु गलत हो, सर्वसहमतिमै नेतृत्व ल्याउनुपर्छ ।’ उनले आफू नै सर्वसहमतिको नेतृत्व भएको समेत दाबी गरे ।

उद्योग संगठनको सदस्यमा १७० जना सदस्यहरु रहेका छन् ।

नेतृत्वको निर्वाचनका लागि अध्यक्ष १ सहित वरिष्ठ उपाध्यक्ष १ जना निर्वाचित हुनेछन् । त्यस्तै उपाध्यक्ष ३ जना‚ जसमा वित्तीय क्षेत्र, ऊर्जा क्षेत्र र श्रम क्षेत्र हेर्ने उपाध्यक्षको जिम्मेवारीमा आउनेछन् । उपाध्यक्ष पदका लागि राजकुमार गोल्छा, नन्दकिशोर राठी र राकेश सुराना, भोलेश्वर दुलाललगायतले दाबी गर्दै आएका छन् । कोषाध्यक्षमा बिपीन काब्राको दाबी रहेको छ भने अन्य ८ जना पनि निर्वाचित सदस्य हुनेछन् । बाँकी ३ जनालाई भने मनोनित गर्ने प्रावधान रहेको उद्योग संगठन मोरङले जनाएको छ।

के हो उद्योग संगठन ?
पूर्वी क्षेत्रको एक अग्रणी उद्योगीहरुको छाता संस्था उद्योग संगठन हो । यो २०२४ सालमा उद्योगीहरू मिलेर उद्योगलाई प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार र वाणिज्यको गुणस्तरको उद्देश्य हासिल गर्न, सरकार र औद्योगिक क्षेत्रको बीचमा आवश्यक समन्वयको उद्देश्यका साथ स्थापना भएको हो । उद्योग संगठनले लगानी वातावरण, प्रशिक्षण, कार्यशाला, औद्योगिक व्यापार मेला, सेमिनार, ब्यवसायीक छलफल, र कर्पोरेट सामाजिक उत्तरदायित्व जस्ता विभिन्न गतिविधिहरुलाई बढावा दिँदै आएको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारको विकास गर्ने, औद्योगिक क्षेत्रका उद्योगहरूबीच सहयोग स्थापना गर्ने विभिन्न गतिविधिहरूको समन्वय र नियमन गर्ने काम गनि उद्योग संगठनले गर्दै आएको छ ।

के भयो तीन वर्षमा ?
२०७५ असारमा आएको नयाँ नेतृत्वको समयावधि सकिएसँगै यो अवधिमा के राम्रा काम भए भनेर समीक्षा शुरु भइसकेको छ । उद्योग संगठनमा आबद्ध भएका १७० जना सदस्यहरुले नेतृत्वले गरेका राम्रा कामहरुको लेखाजोखा पनि थालेका हुन् । तर देखिनेगरी उपलब्धीको रुपमा केही महत्वपूर्ण काम गरेको दाबी उद्योग संगठनका अध्यक्ष भीम घिमिरेको छ । उनका अनुसार आफू निर्वाचित भएर आएपछि विराटनगरमा उद्योग संगठन, विराटनगर महानगरपालिका र प्रदेश सरकारका बिचमा विराटनगर प्रवेशद्वार निर्माणको लागि टेण्डर लगाएको, प्रदर्शनी स्थल निर्माणको कामले तीव्रता पाएको छ ।

उद्योगी व्यवसायीले बैंकको चर्को ब्याजदरका कारण सास्ती व्यहोरेको बेलामा १८ प्रतिशतसम्म पुगेको बैंकको ब्याजदर र बैंकहरुको एकाधिकार तोड्न उद्योग संगठन सफल भएको र ब्याजदर १८ बाट ८ प्रतिशतमा झार्न सफल भएको उनको दाबी छ ।

विद्युतको लो भेल्टेज, विद्युत ट्रिपिङको समस्या समाधान भएको, उद्योगमा नियमित हुने बन्द र हड्तालको अन्त्य गर्न सफल भएकालाई पनि उपलब्धीको रुपमा उनले लिए । उद्योगमा आउने समस्या छलफलको माध्यमबाट समाधान भएको, भन्सार र आन्तरिक राजस्व कार्यालयबाट छापा मार्ने क्रमलाई रोकी करको दायरामा उद्योगी व्यवसायीलाई लग्न सफल भएको, भन्सार आयात र निर्यातमा दुवै देशका भन्सार कार्यालयहरुसँग बसेर सहजीकरण गराएको, मोरङ व्यापार संघ र उद्योग संगठनबिचको सम्बनध सुधार गराएर लगेको समेत उनले बताए । उद्योग वाणिज्य संघले समाधान गर्न नसकेका समस्यलाई उद्योग संगठनले समाधान गरेर गएको, संघ, प्रदेश र स्थानीय सरकारको असल सल्लाहकारको भूमिकामा उद्योग संगठनले भूमिका खेलेको पनि घिमिरेले बताए ।

प्रतिक्रिया