ऊर्जा क्षेत्रमा दक्ष जशक्ति तयार गर्न इप्पान र शेषकान्त फाउन्डेशनबीच सम्झौता

काठमाडौँ । ऊर्जा क्षेत्रका लागि दक्ष जनशक्ति देशभित्रै तयार गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र गैरसरकारी संस्था शेषकान्त फाउन्डेशनबीच सम्झौता भएको छ ।

पछिल्लो समय नेपालमा जलविद्युत्, सौर्य ऊर्जा, बायु ऊर्जा, जैविक ऊर्जालगायत विभिध ऊर्जाको विकासलाई सरकार, निजी र दातृ निकायले प्राथमिकता दिँदै आएका थिए । ऊर्जा उत्पादन, प्रसारण र वितरणमा काम गर्न देशभित्र दक्ष जनशक्तिको आभाव पूरा गर्ने दुई संस्थाबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य र फाउन्डेशनका अध्यक्ष विश्वेश्वर प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विद्युत् आयोजनाहरुको निर्माण, सञ्चालन तथा मर्मत, प्रसाशरण तथा वितरणका लागि जनशक्ति तयार पार्न ६ महिनाभित्र पाठ्यक्रम तयार पारेर तालिम सुरु गर्ने सम्झौता भएको छ ।

धादिङको धुनिबेँसी नगरपालिकामा हालै सञ्चालनमा आएको फाउण्डेसनले दक्ष जनशक्ति उत्पादनका लागि सरकारसँग अनुमतिसमेत लिएको छ । जर्मन प्राविधिक शिक्षालयको समेत सहयोग रहेको सो फाउण्डेसनले जलविद्युत् क्षेत्रमा अत्यावश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने फाउण्डेसनका अध्यक्ष ढकालको भनाइ छ ।

फाउन्डेशनको शिक्षालयमा हाल २० जनाले प्रशिक्षण लिइरहेका छन् । निर्माणाधीन होस्टल, शिक्षालय भवन र उपकरण आयातसहित हालसम्म रु १४ करोड खर्च भइसकेको उक्त संस्थाले जनाएको छ ।

हाल नेपालमा १३ सय मेगावाट भन्दा बढी विद्युत् उत्पादन जडित क्षमता पुगेको छ । त्यस्तै, ७ हजार मेगावाट भन्दा बढी आयोजना निर्माणका क्रममा छन् । सम्भाव्य आयोजनाहरुको सूची लामो रहेको र ती आयोजना विकास गर्न स्वदेशमा जनशक्ति अभाव रहँदै आएको छ ।

प्रतिक्रिया