च्याम्पियन्स लिग : डर्टमन्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डर्टमन्डले स्पेनिस क्लब सेभियालाई समग्रमा ५-४ गोलन्तरले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति भएको दोस्रो लेगमा भने डर्टमन्ड सेभियासँग २-२ गोलको बराबरीमा रोकियो । यसअघि भएको पहिलो लेगमा सेभियाविरुद्ध डर्टमन्डले ३-२ गोलको जित निकालेको थियो । दोस्रो लेगको खेलमा डर्टमन्डका लागि एर्लिङ हल्यान्डले दुई गोल गरे। युसेफ नेसिरीले पनि सेभियाका लागि दुई गोल गरे ।

खेलको ३५ औं मिनेटमा गोल गर्दै हल्यान्डले डर्टमन्डलाई १-० गोलको अग्रता दिलाए । ५४ औं मिनेटमा पेनाल्टीबाट हल्यान्डले गोल गरेपछि डर्टमन्डले २-० गोलको अग्रता बनायो । तर खेलको ६८ औं र खेलको अन्तिम समयमा नेसिरीले गोल गर्दै सेभियालाई २-२ गोलको बराबरी दिलाए ।

यो बराबरीसँगै डर्टमन्डले दोस्रो लेगमा सेभियासँग २-२ गोलको बराबरी खेलेपनि समग्रमा ५-४ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । सेभिया भने च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।

प्रतिक्रिया