नयाँ राजनीतिक परिवेश : प्रचण्डलाई धपेडी‚ ओलीलाई आराम

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले थपिदिएको रनाहासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडाहा पनि बढेको छ । सरकारमा जाने र छेक्ने खेलोफड्को शुरु भएसँगै प्रचण्डको धपेडी बढेको हो ।

बुधबारबाट शुरु भएको उनकाे कुदाकुद अझै बढ्दै जाने निश्चितजस्तै छ । र अर्काे कुरा अब उनीसँग अस्ति भर्खरैसम्म बलियो आडभरोसा दिने माधवकुमार नेपाल पक्षका नेताहरु हुने छैनन् । अर्कातिर आफ्नै दलका नेताहरुका ‘हामी अब एमाले नै भयौँ’ भन्ने अभिव्यक्तिले पीडा थपिँदो छ ।

माओवादी केन्द्रले एमालेसँग पनि छलफल गर्ने विकल्प राखेपनि  अब माओवादी केन्द्र र एमालेको सम्बन्ध सत्तामा जाने मात्र होइन ‘एकले अर्कोलाई कसरि छेक्ने’ भन्ने खालको पनि हुने अनुमान गर्न कठीन छैन । यो दाैडमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सजिलो अवस्थामा देखिन्छन् भने प्रचण्ड निकै अप्ठ्यारो अवस्थामा छन् ।

बुधबार, पेरिसडाँडामा स्थायी समितिको बैठक सकेपछि सत्ता साझेदारीका लागि छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रचण्ड त्यसपछि आफ्ना पूर्वसहकर्मीसमेत रहेका जसपाका अध्यक्ष बाबुराम भट्टराईलाई भेट्न टोखा पुगे ।

परिस्थिति प्रचण्डका लागि यस्तो छ कि उनले कांग्रेसलाई मात्र मनाएर वा भनौँ सत्ताको नेतृत्व गर्न दिएर पुग्दैन । किनभने जसपाको समर्थन पाए प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत पुग्नेछ । त्यसकारण प्रचण्डले जसपालाई पनि रोक्नुपर्नेछ ।

दुई दल मिलेर बनेको जसपाभित्र ‘सत्ताको तुरुपले फेरि दल विभाजन गरेर एक पक्षले ओलीलाई समर्थन गर्ने सम्भावना पनि छँदैछ । यसकारण पनि प्रधानमन्त्री  ओलीलाई प्रचण्डको जस्तो धपेडी छैन । यसको खेल ओलीले शुरु गरिसकेका छन् । रेशम चौधरीलाई थुनामुक्त गर्ने केही नेताका नाममा रहेको मुद्दा फिर्ता लिनेदेखि उपसभामुख दिनेसम्मका अफर उनले जसपाका नेताहरूलाई दिइसकेको स्रोतहरू बताउँछन् । उनले जसपाका नेताहरुले मागेजति मन्त्रालय दिएर सरकारमा सामेल गराउन सक्छन् ।

जसपालाई मनाउन नसकेको खण्डमा अन्तिममा ओलीसमक्ष रोजीरोजी मन्त्रालय दिएर कांग्रेसलाई सरकारमा लैजाने र माओवादीलाई छेक्ने नीति अपनाउन सक्ने सुविधा पनि छ ।

जबकी प्रचण्डलाई कांग्रेससहित जसपालाई पनि मनाउनुपर्नेछ ।

बुधबारबाट शुरु भएको नयाँ सत्ताको खेलोमेलो कहाँसम्म पुग्ने हो र राजनीतिक घटनाक्रम कसरी अघि बढ्ने हो भन्नेबारे धेरै कुरा स्पष्ट भइसकेको त छैन‚ तर यो परिस्थिति ओलीका लागि सजिलो र प्रचण्डका लागि तनावपूर्ण छ ।

नेकपा विभाजन हुने भनिएकाे यसअघिकाे अवस्थामा पनि खास उत्साहमा नरहेको कांग्रेसका लागि भने अहिलेको अवस्थाले पनि खास उत्साह थपेको छैन । किनभने अहिलेको अवस्थामा सत्ता समीकरणका लागि ऊभन्दा बढी निर्णायक जसपा बनेको छ ।

सत्ताको अवसर पाउनासाथ नेपालका राजनीतिक दलहरुको कुनै भरोसा हुँदैन । त्यसमाथि पनि दुई दल मिलेर भर्खरै एक भएको जनता समाजवादी पार्टीभित्रको अवस्था अझ तरल देखिन्छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीसँग सहकार्य गर्न नहुने पक्षमा देखिएपनि राजेन्द्र महतो र महन्थ ठाकुर पक्ष ओलीप्रति नरम हुनसक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।

भट्टराई र यादवलाई थाहै नदिई रेशम चौधरीलाई छुटाउने विषयमा छलफल गरी दुई सदस्यीय कार्यदल समेत बनाउनुले पनि शंका थपिएको छ ।

यस्तो अवस्था आए र जसपा विभाजन गरेर आफूसँगै सत्ता सहयात्रामा सामेल गराउन पाए त केपी ओलीका लागि हाइसन्चो भइगयो ।

प्रतिक्रिया