रेशम चौधरीलाई छोडेपछि मात्र सत्ता सहकार्यको कुरा अघि बढ्छ : जसपा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरूले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ भएपछि मात्र नेकपा एमालेसँग सत्ता साझेदारीको विषय अघि बढ्ने बताएका छन् ।

मंगलबार बसेको जसपाको संसदीय दलको पहिलो बैठकमा सांसदहरुले जेलमा रहेका चौधरीको रिहाइ, अरु नेताहरुमाथि लगाइएको मुद्दा खारेजी, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका माग पूरा गरेपछि मात्र एमालेसँग सत्ता साझेदारी गर्नुपर्ने बताएका हुन् ।

नेता मोहम्मद इस्तियाक राइनले मकालु खबरलाई दिएको जानकारीअनुसार बैठकमा धेरै सांसदले संसद विघटन जस्तो असंवैधानिक कदम चाल्ने केपी ओली नेतृत्वको सरकारमा जान नहुने धारणा पनि राखेका थिए ।

‘अहिलेसम्म हामी कांग्रेस माओवादी एमाले सबैसँग सत्तामा गएका छौँ, तर हाम्रा माग कसैले पूरा गरेनन्, सबै सहमति उधारोमै भए त्यसैले अब चाहीँ हाम्रा माग पूरा भएपछि मात्र सम्मानजनक सत्ता साझेदारीको कुरा आउँछ भन्नेमा हाम्रो एकमत छ‚’ राइनले भने ।

पार्टीका तर्फबाट बुधबार चार वा पाँचजनाको कार्यदल सार्वजनिक हुने र त्यसले यी सबै विषयमा सरकारसँग वार्ता गर्ने सहमति पनि आजको बैठकमा भएको उनले जानकारी दिए ।

यसअघि दल एकीकरण गरेर संसदीय दलको संयुक्त बैठक नै बसिनसकेकाले महन्थ ठाकुर र राजेन्द्र महतोले चौधरीको रिहाइका लागि बढी पहल गर्नु स्वभाविक भएपनि अब जसपाका तर्फबाट आधिकारिक कार्यदल बनाई यी सबै विषयमा सरकारसँग छलफल गर्ने राइनले बताए ।

प्रतिक्रिया