चितवनको पार्टी कार्यालयमा एमालेले राख्यो आफ्नो बोर्ड

चितवन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बदर गरेपछि ब्युँतिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले चितवनको कार्यालयमा आफ्नो बोर्ड राखेको छ ।

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि मङ्गलबार चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड हटाएर नेकपा (एमाले)को राखिएको हो । भरतपुर–१० स्थित मदन नगरमा रहेको जिल्ला पार्टी कार्यालयमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका नेता कार्यकर्ताहरुले नेकपा (एमाले)को बोर्ड राखेका हुन् ।

एमाले ब्युँतिएपछि ओली समूहका जिल्ला नेता कार्यकर्ताहरू भने उत्साहित छन् ।

एमालेको बोर्ड राख्ने कार्यक्रममा कार्यकर्ताहरुले नाचगानसमेत गरेका थिए । नेकपा एमाले चितवनको विसं २०७३ कात्तिक ९ गते भएको निर्वाचनबाट अध्यक्षमा कृष्णभक्त पोखरेल, उपाध्यक्षमा तेजेन्द्र बहादुर खड्का र सचिवमा पार्वती रावल निर्वाचित भएका थिए । अध्यक्ष पोखरेल र उपाध्यक्ष खड्का एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन् ।

सचिव रावल भने ओली समूहबाट निर्वाचित हुन् । एमाले र माओवादी एकतापछि बनेको नेकपाको जिल्ला अध्यक्षमा माओवादी केन्द्रका यमबहादुर परियार थिए भने सचिवमा माधव नेपाल समूहका कृष्णभक्त पोखरेल थिए । जिल्ला पार्टी कार्यालयमा एमालेको बोर्ड राख्ने कार्यक्रममा ओली समूहका नेता कार्यकर्ताहरु मात्रै उपस्थित भएका थिए ।

चितवनबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका तीनजना सांसदहरूमध्ये प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुन् भने कृष्णभक्त पोखरेल र सुरेन्द्र पाण्डे माधव नेपाल निकटका नेता हुन् ।

प्रतिक्रिया