दिवस सकियो, अपराध कहिले सकिन्छ ? अनि विभेद…!

  •  दिक्षा कट्टेल

काठमाडौँ । हिजोमात्रै एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाे । आज बिहानै खबर आयाे- दाइजो कम ल्याएको भन्दै रुपन्देहीमा श्रीमतीलाई जलाउने एक पुरुष पक्राउ । आजै सांसद कोमल वली आफ्नै पार्टीका नेता तथा पूर्व सांसद रघुजी पन्तविरुद्ध गाली बेइजतीको मुद्दा बोकेर अदालत पुगिन् ।

आजै खबर आयाे दैलेखमा चार छाेराछाेरीसहित आमाले कर्णाली नदीमा हाम फालिन् श्रीमानले जाँडरक्सी खाएर यातना दिने गरेकाले उनले सन्तानसहित नदीमा हाम फालेकाे हुनसक्ने प्रहरीकाे आशंका छ ।

र यसपटककाे नारा थियो ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार ।’

अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताको हिजोको अभिव्यक्ति थियो- बलात्कार नहोस्, हिंसा नहोस्, एसिड आक्रमण नहोस्, यस्ता कुकर्ममा संलग्नलाई कडाभन्दा कडा कारबाही होस्’ ।

माथिल्ला दुई घटनालाई मात्र उदाहरणका रुपमा लिने हाे भने पनि महिला हिंसा आफ्नै नजिकका व्यक्तिबाट भइरहेको छ । योविरुद्ध लड्छु भन्ने हिम्मत भएको भए दाइजोकै लागि अर्की एक महिलाको मृत्यु पक्कै हुँदैन थियो । उनी त थिइन् साधारण महिला, बोल्न सकिनन् । तर कोमल वली ? सांसदसमेत रहेकी उनले न्यायका लागि अदालत पुग्न एघार दिन लगाइन् ।

पछिल्लो समय बेवारिसे लाश जलाउने सपना रोका मगर र विनयजङ्ग बस्नेतको विषय चर्चामा रह्यो । विनयले सार्वजनिक रूपमा सपनाको ‘नाङ्गो फोटो’ देखाउने धम्की दिए । यी दुईले एक अर्कालाई बाबु-छोरी भन्थे । यसरी खुलेआम धम्क्याउने व्यक्तिले वास्तविक जीवनमा दिएको यातनाको अनुमानमात्रै लगाउन सकिन्छ ।

‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेकै भरमा सांसद भएको’ भनेर रघुजी पन्तले भने त्याे पनि सार्वजनिक कार्यक्रममा क्यामरा कै सामुन्ने ।

दुवै विषयमा जनमत विभाजित छ । को गलत र को सही भन्दै सामाजिक सञ्जालमा मानिसहरू जुधिरहेका छन् ।

विश्वका १०० शक्तिशाली महिलाको सुचीमा परेकी सपना किन चुप रहिन् देखि कोमललाई एक्सन लिन किन यतिका दिन लाग्यो भन्ने प्रश्न भइरहेका छन् । यही प्रश्न गर्दै यी दुई नारीको चरित्रलाई अझ तल्लो तहमा पुगेर गिराउनेहरु पनि देखिएका छन् ।

यसरी हेर्दा पहुँचमा भएका महिलालाई हिंसाविरुद्ध लड्न यतिका समय लाग्छ भने आम नेपाली महिलाको स्थिति के होला ? अनुमान गर्न सकिन्छ ।

पूर्वमिस नेपाल उषा खड्गीले  ‍श्रीमानसँग सम्बन्ध विच्छेदको निर्णय लिन दुई दशक लगाइन् । उनका माइती पक्ष अझ भनौँ बाबु आमा नै सम्बन्ध विच्छेदपश्चात् लामो समयसम्म नबोलेको उनको दुखेसो छ । देशले चिनेको प्रतिष्ठित व्यक्तिलाई समेत आफ्नो खुसीको निर्णय गर्न आफ्नै बाबुआमाबाट पनि बाधा रहेछ । अझै पनि उनका पूर्वपति जीपी तिमल्सिनाले  ‘देखाइदिन्छु’ भन्दै धम्क्याउने गरेको उनी बताउँछिन् ।

चिनिएका अनुहार, धेरैको ‘आइडल’ मानेका व्यक्तिको स्थिति यो छ भने घरघरका महिलाको स्थिति के होला ? सहरदेखि दूर दराजसम्मका महिला आफूमाथि घटेका हिंसाको विषयमा जानकार छन् त ? की बिपना बस्नेतको झैँ छ स्थिति ? श्रीमानको पिटाइलाई आफ्नोपन भनेर स्वीकार्ने ।

गएकाे हप्ता सहकर्मी सृष्टि केसी र मैले बर्षाैंसम्म घरेलु हिँसा खेप्न बाध्य विपना बस्नेतलाई भेटेका थियाैँ । श्रीमानबाट बर्षाैँसम्म कुटपिट र यातना सहेर पनि उनी सहेर बसेकी थिइन् । ।श्रीमानले बिना कारण गालामा थप्पड हान्दा पनि उनले प्रतिकार गरिनन् बरु अर्काे गाला थापिदिइन् । उनलाई लाग्थ्याे रे ‘जसले माया गर्छ उसैले त पिट्ने हाे नि !’ सपनाजस्ताे लाग्ने विपनाकाे भाेगाइ सुन्दामात्र पनि हाम्राे आङ सिरिङ्ग गरेको थियो ।

यी त भए हिंसाका घटना । विभेद कति होला ? कति कति लेखाजाेखा नै छैन । अपराधीलाई सजाय दिने र न्यायको लडाइँ लड्दैमा नै दिन बित्दैछन् भने विभेदसम्म कैले पुगिएला ? उत्तर कसैसँग छैन ।

घरमा दुई सन्तान छन्, करिब एकै उमेरका । खेल्ने उमेरमा छोरीलाई भाँडाकुटी थमाउँदै गर्दा छोरोको हातमा गाडी पुग्छ ।

गुलाबी रङ्गको ब्याग छोरीलाई किन्दा छोरालाई निलो झोला आउँछ । छोरीले कुचो लगाउँदा खुसी हुने आमा छोरोको हातमा त्यही कुचो देख्दा खोस्न पुग्छिन् ।

भाडा किनेर भाडाकुटी खेल्न दिँदै गर्दा छोरीलाई उनको भूमिका सिकाउँदै हुन्छ, समाज । कुचो लिएर सफा गर्न नबिर्स है छोरी भन्छ त्यही समाजले । तर आमाबाबु आफैँले पनि भन्न सक्दैनन् ‘छोरो तिम्रो पनि पेट छ । खानुपर्छ । खाना पकाउन सिक ।’ न त, ‘घर सफा सुग्घर राख्नु तिम्रो पनि जिम्मेवारी हो । तिमी पनि फोहरमा बस्नु हुँदैन है । आफ्नो लागि आफैँ गर ।’

किशोरावस्था नटेक्दै ‘यसले के घर गरी खाली’ भन्दै कराउने आमा छोरीलाई खाना बनाउने जिम्मा दिएर सोही उमेरको छोरोको २ दिन अघि नुहाएर धाराको कुनामा थुपारेको कपडा धुन जान्छिन् । यसरी, कसरी हुन्छ त विभेदको अन्त्य ?

बर्षेनी दिवसका कर्मकाण्डहरु सकिँदै जाँदा उहि प्रश्नले दिमागमा बेस्सरी घाेच्छ – दिवस त सकियो । अपराध कहिले सकिएला ? अनि विभेद… !

प्रतिक्रिया