विप्लवको प्रश्न- क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडाैँ । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् ।

उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोन्मेन्टमा भएको आर्थिक अनियमितताबारे गम्भीर प्रश्न उठाएका हुन् । प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए ।

विप्लवले आपूmहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रतिसेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ? पूर्वमाओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ ।’

भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन । एउटाले अर्कोलाई दोष दिएको छ,’ उनले भने ।

विप्लवले शीर्ष दलले जनताको मत पाएर जनताकै अपमान गरेको बताए । उनले भने, ‘दलहरू गुटगत लडाइँमा छन् । आफ्नो गुटका लागि लडेर जनतालाई सुख हुँदैन, प्रगति हुँदैन,’ आफूहरू शान्ति विरोधी नभएको भन्दै उनले भ्रष्टाचारीको विरोधमा आवाज उठाएको बताए । ‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु गल्ती हो त ? किसानलाई सस्तोमा ऋण दिनुपर्छ भन्नु गल्ती हो त ?’ उनले प्रश्न गरे ।

विप्लवले सरकार गठन भएको एक वर्षपछि प्रचण्डले आफ्नै पार्टीभित्र सत्तालोलुपताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग संघर्ष गरेको बताए । उनले भने, ‘के त्यो संघर्ष किसान, मजदुर र श्रमिक वर्गको हकहितका लागि थियो र ?’

विप्लवले प्रचण्डले क्रान्तिलाई धोका दिएको बताए । उनले भने, ‘कुनै बेला प्रचण्ड उभिएपछि देश हल्लिन्थ्यो । प्रचण्डले अपिल गर्दा हजारौं दिदीबहिनी आन्दोलनमा होमिन तयार थिए । हामी पनि तयार थियौं । तर, हामीले छोडेको २० महिनामा नै प्रचण्ड धुलोपिठो बन्न पुगे,’ विप्लवले प्रचण्ड र बाबुराम भट्टराई हिँडेको बाटो गलत भएको बताए । उनले भने, ‘जुन उद्देश्यले जनयुद्ध थालियो तर प्रचण्ड र बाबुरामले जनताको सपनालाई लत्याए ।’

विप्लवले सरकारसँग जनमत संग्रहको मागसमेत गरे । उनले भने, ‘संसदीय व्यवस्था फेल साबित भयो । अब पुँजीवादी व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी ठीक भनेर व्यवस्थाका लागि जनमत संग्रह गरौं,’ उनले अन्यायविरुद्ध लड्ने क्रममा कसैसँग नझुक्ने बताए ।

सरकार र आफ्नो पार्टीबीच भएको सहमति अग्रगामी र आमजनताको पक्षमै भएको उनले स्पष्ट पारे । कतिपयले गलत ढंगले व्याख्या गरे पनि यो सहमति जनताको पक्षमा गरिएको उनले दाबी गरे । विप्लवले आफूहरूसँग हतियार नभएको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पार्टीसँग हतियार छैन । दिमाग हाम्रो वैज्ञानिक हतियार हो । कसैले हाम्रो स्वाधीनतामाथि हस्तक्षेप गर्छ भने चुप लागेर बस्दैनौं ।’ –राजधानी दैनिकबाट

प्रतिक्रिया