संसद होइन, अध्यादेश बहिस्कार गरेका हौँ : प्रचण्ड [भिडिओसहित]

काठमाडौं । विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले संसद नभइ सरकारले ल्याएको अध्यादेशलाई मात्रै बहिस्कार गरेको बताएका छन् । संसद बैठकको बीचमा बाहिरिएका अध्यक्ष दाहालले संसद भवन बाहिर पत्रकारहरुसँगको सवाल जवाफका क्रममा यस्तो बताएका हुन् ।

सरकारलाई अध्यादेश ल्याएर पारित गराउने कुनै अधिकार नभएको अध्यक्ष दाहालको तर्क छ । सरकारले पहिले पनि अध्यादेश जारी गरेर नाटक देखाएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘संसद छोडेर हिँडेको होइन । एउटा एजेण्डा, जो सरकारसँग सम्बन्धित थियो । त्यो एजेण्डा असंवैधानिक छ । यसलाई अध्यादेश ल्याएर अहिले पारित गराउने कुनै अधिकार छैन ।’

यस्तै अध्यक्ष दाहालले आइतबारको सर्वोच्चको फैसलाले वर्तमान सरकार कसको हो ? भन्ने कन्फ्यूजन बढाएको बताएका छन् । ‘अब त झन आजको सर्वोच्चको फैसलाले त यो कसको सरकार हो भन्ने नै कन्फ्यूजन बढाइदिएको अवस्था छ,’ अध्यक्ष दाहालले भनेका छन्, ‘त्यस्तो सरकारले ल्याएका अध्यादेशहरुलाई मन्त्रीहरुले पास गरेको त्यो नाटक हेर्नुभन्दा बाहिरिनु नै बेश हुन्थ्यो र त्यो लोकतान्त्रिक हुँदैनथ्यो । न त्यो संसदीय परम्पराअनुकूल नै हुन्थ्यो । त्यसैले हामीले संसद होइन, अध्यादेश मात्रै बहिस्कार गरेका हौँ ।’

सर्वोच्चले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । योसँगै एकीकृत नेकपा खारेज भएको छ । सर्वोच्चको खारेजको निर्णय निर्वाचन आयोगमा दर्तासमेत भइसकेको छ । सँगै सर्वोच्चले पूर्वमाओवादी केन्द्र र एमाले ब्यूँताइदिएको छ । यसो हुँदा गोपाल किरातीको नाममा रहेको माओवादी केन्द्र र सन्ध्या तिवारीको नाममा रहेको नेकपा एमाले स्वतः खारेज हुनेछ ।

प्रतिक्रिया