राजनीतिक रस्साकस्सीका बिच संसद बैठक सुरु हुँदै

  • धनबल राई

काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले गत ११ फागुनमा बदर गरिदिएपछि प्रतिनिधि सभाको पहिलो बैठक आइतबार बस्दैछ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरिसकेपनि के कसो हुने हो भन्ने अन्योल भने कायमै छ ।

कानूनी रुपमा विभाजन भइनसकेपनि व्यवहारिक रुपमा सत्तापक्ष र विपक्ष बनिसकेको नेकपाका दुई पक्षले के गर्लान् अनि कांग्रेस र संघीय समाजवादी पार्टीको भूमिका के होला भन्ने कौतुहलता झनै बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने सम्भावना लगभग समाप्त भएपछि अब उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने/नहुने, कांग्रेस र समाजवादी पार्टीको भूमिका के हुने गायत विषयमा चासो बढेको छ । नेकपामा दुई पक्षले आफूलाई अनुकूल हुनेगरी संसदीय दलको नेता र प्रमुख सचेतकसमेत चयन गरेको जनाएका छन् ।

यस्तो अवस्थामा नयाँ सरकार गठनको प्रक्रिया शुरु कहिले होला भन्ने पनि कौतुहलता छ । नेकपाका सांसदहरु सत्तापक्षको लहरमा बस्ने कि विपक्षको भन्ने कौतुहलता पनि कायमै रहेका बेला संसद सचिवालयले नेकपा विभाजनको औपचारिक पत्र नआएकाले अहिले नेकपाका सबै सांसद सत्तापक्षकै कुर्सीमा बस्ने जनाएको छ ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने र अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने रणनीति बनाएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउँदा नयाँ प्रधानमन्त्रीको उम्मेद्वार पनि तोक्नुपर्ने व्यवस्था छ । यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको नामलाई सम्भावित नाम मानिएको छ । तर, कांग्रेसले उचित बेलामा निर्णय गर्ने भन्दै यसबारेमा मुख खोलेको छैन । श्रोतकाअनुसार ओली पक्षको नेकपाले पनि सरकारमा आउन कांग्रेसलाई प्रस्ताव गरिरहेको छ ।

यस्तै संघीय समाजवादी पार्टीले पनि यसबारे मुख खोलेको छैन । कांग्रेस र समाजवादी पार्टी दुवैले नेकपा कानूनी रुपमा विभाजन भइनसकेकाले आफूहरु त्यतिबेलासम्म तटस्थ नै रहने बताउँदै आएका छन् । तर, अवस्था उनीहरुले भनेजस्तो सजिलो छैन । प्रधानमन्त्री ओलीले राजीनामा नदिएको अवस्थामा उनलाई सरकारबाट हटाउने हो भने कांग्रेस र समाजवादीले कि त ओली पक्षलाई नै कि त प्रचण्ड नेपाल पक्षलाई रोज्नुपर्नेछ ।

त्यसो त विपक्षी नेकपा एक्लैले अविश्वास प्रस्ताव अघि नबढाउने बताइसकेको छ । आफ्ना मात्र सांसदले अविश्वास प्रस्ताव पारित गर्न आवश्यक गणपूरक संख्या नपुग्ने भएकाले पनि उसका लागि कांग्रेस र समाजवादी पार्टीको सहयोग चाहिन्छ ।

उसो त आइतबारको बैठक शोक प्रस्ताव मात्र पारित गरेर पनि सकिने सम्भावना छ । अर्कातिर आइतबार नेकपा कसको भन्ने फैसला पनि सर्वोच्च अदालतले गर्ने भएकाले त्यसले पनि राजनीतिमा केही असर गर्नेछ ।

सत्तापक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङ्ग आजको बैठकमा अविश्वासको प्रस्ताव नआउने विश्वासमा छन् । ‘आजको बैठकको कायसूची तय भइसकेको छ,’ मकालु खबरसँग संक्षिप्त कुराकानी गर्दै नेता नेम्वाङ्गले भने, ‘अविश्वासको प्रस्तावको कुरा त कहाँबाट आउँछ र ?’ आफूहरु संसदीय अभ्यास र प्रणालीलाई मान्ने भएकाले आफूहरुको प्रस्तुतिमा नौलोपन नझल्कने नेता नेम्वाङ्गको भनाइ छ ।

संसद बैठकमा आफ्नो पार्टीको प्रस्तुतिबारे आफूहरु छलफलमै रहेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘नेपाली कांग्रेस पार्टी भनेको प्रमुख प्रतिपक्षी दल हो,’ प्रवक्ता शर्माले मकालु खबरसँग भने, ‘यसले आफ्नो जिम्मेवारी अत्यन्तै परिपक्व हिसाबले निभाउँछ ।’

यस्तै कांग्रेस सचेतक पुष्पा भुसालले पनि पुनःस्थापित संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतिर कांग्रेसको ध्यान रहेको बताइन् । ‘कार्यसूची हेर्दा आजको बैठकमा अनपेक्षित नहोला,’ भुसालले भनिन्, ‘सर्वोच्चले संसद पुनःस्थापना गरेको छ । यसलाई ऐतिहासिक मान्नुपर्छ । अब पुनः संसदलाई कसरी प्रभावकारी बनाउने भन्नेतिर हाम्रो ध्यान छ ।’

विपक्षी नेकपाले आज प्रधानमन्त्रीकै हैसियतमा संसद भवन छिर्ने ओलीलाई संसदीय दलको नेतादेखि पार्टीको साधारण सदस्यसम्मबाट समेत हटाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेता चुनेको छ । अब यस्तो अवस्थामा दलका नेता कसलाई मान्ने भन्नेबारे पनि विवाद छ ।

यस्तै, ओली पक्षले देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाउने निर्णय गरेकाले यो विषयको आधिकारिता र विवादको कुरा पनि छ । ‘तपाईँहरु कसरी प्रस्तुत हुनुहुन्छ?’ भन्ने प्रश्नमा समूहका प्रमुख सचेतकसमेत रहेका देव गुरुङले आफूहरुले संसदीय मर्यादालाई पालना गर्ने र भित्रैबाट समस्या समाधानको खोज्ने बताए । ‘संसदमा बोल्ने व्यवस्था रह्यो भने नेताहरुले प्रस्तुति गर्नुहुन्छ,’ गुरुङ्गले मकालु खबरसँग भने, ‘अन्य कुराहरु त बैठकबाटै थाहा हुन्छ ।’

प्रतिक्रिया